ए डिभिजन लिगमा आज चिर प्रतिद्वन्द्वी मनाङ र थ्रि–स्टार भिड्दै

 माघ ४, पर्वत । लिग फुटबल होस् या नकआउट फुटबल, मनाङ मर्स्याङ्दी भर्सेस थ्रि–स्टार क्लबको खेल भनेपछि छुट्टै चर्चा हुन्छ । नेपाली फुटबलकै सबैभन्दा ठूलो प्रतिस्पर्धा छ यी दुई चर्चित क्लबको ।

मनाङ गत सिजनको च्याम्पियन टिम हो भने थ्री स्टार गत सिजन तेस्रो भएको थियो । यता दुवै टिम पहिलाको जस्तो छैनन् । मनाङले गत सिजन लिग जित्दा कप्तान विराज महर्जनसहित १२ खेलाडीले यस सिजन मनाङ छाडे । थ्री स्टारबाट पनि यस सिजन ८ खेलाडी बाहिरिए । नेपालको राष्ट्रिय टिमले पछिल्लो पटक भुटानमा कुवेतसँग गरेको प्रतिस्पर्धामा खेलेका तीन खेलाडी अनन्त तामाङ, विक्रम लामा र मिक्छेन तामाङ थ्री स्टारमा छन् ।

मनाङमा त वर्तमान राष्ट्रिय टिमका कुनै खेलाडी छैनन् । तर राष्ट्रिय टिमबाट खेलिसकेका रन्जन विष्ट, विमल राना र आदित्य चौधरी छन् । त्यसैले दुवै क्लब पहिलेजस्तो बलियो यस सिजन देखिएका छैनन् । तर, फेरि यी दुई क्लबको खेलको छुट्टै चार्म छ ।

प्रकाशित मिति ४ माघ २०७६, शनिबार ०५:०५