राष्ट्रिय सभा निर्वाचन : भोलिदेखि मौनअवधि, आचारसंहिता पालना गर्न आयोगको निर्देशन

माघ ५, काठमाडौँ । माघ नौ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि माघ ६ गते राति १२ बजेबाट मौनअवधि सुरु हुने भएको छ । निर्वाचन आयोगले यसअवधिमा निर्वाचन आचारसंहिता कडाइका साथ लागु गर्ने जनाएको छ ।

मौनअवधि सुरु भएपछि प्रचार प्रसार गर्न पाइने छैन । आयोगले निर्वाचन आचार संहिता बमोजिम ४८ घण्टा अगाडि अर्थात भोलि २०७६ साल माघ ६ गते सोमबार राति १२ : ०० बजे देखि मौन अवधि शुरु हुने भन्दै मौन अवधिमा कुनै पनि सञ्चार माध्यमबाट निर्वाचन प्रचार प्रसार कार्य गर्न गराउन नपाइने जनाएको छ ।

मौन अवधिमा आफ्ना वेभसाइट, ट्वीटर, फेसबुक, भाइवर वा एसएमएस जस्ता सामाजिक संजाल वा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न निषेध गरिएको छ ।

यस अवधिमा निर्वाचन, मतदाता र मतदान कार्यलाई प्रभाव पार्ने गरी वा त्यस्तो उदेश्य लिई छलफल, गोष्ठी, सेमिनार, अन्तरक्रिया, मतदाता शिक्षा, पत्रकार भेटघाट वा यस्तै प्रकृतिका कुनै पनि कार्य गर्न गराउन पाइने छैन ।

त्यसैले मौन अवधिमा आचार संहिताको पूर्णपालना गर्न गराउन हुन आयोग सम्पूर्ण निर्वाचन सरोकारवालासँग अपिल गर्दछ’, आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति ५ माघ २०७६, आईतवार १४:३४