कर्तव्य ज्यान मुद्दाका आरोपित नेतालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय

माघ ५, पर्वत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले कर्तव्य ज्यान मुद्दाका आरोपित नेता अग्नि सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाउने निर्णय गरेको छ । पार्टीको आज बसेको सचिवालय बैठकले पूर्वमन्त्री समेत रहेका नेता सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सापकोटालाई सभामुख बनाउने सहमति जुटेको थियो । दुई अध्यक्षको सहमतिलाई पार्टीको सचिवालय बैठकले अनुमोदन गरेको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

काभ्रे छत्रबाँझका अर्जुन लामाको हत्यामा संलग्न भएको भन्दै उनकी श्रीमती पूर्णमाया लामाले २०६९ मंसिर ७ गते नेता अग्नि सापकोटाविरुद्ध उजुरी दिनुभएको थियो । तर प्रहरीले यस घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको छैन । हत्या जस्तो गम्भीर घटनाको आरोप खेपिरहेका व्यक्तिलाई सभामुख बनाउने निर्णय गर्नु लोकतान्त्रिक मुलुकका लागि विडम्बनापूर्ण स्थिति रहेको कानुनविदले बताएका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले हत्या अभियोग खेपिरहेका नेतालाई सभामुखको उम्मेदवार बनाउने निर्णय फिर्ता लिन नेकपालाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति ५ माघ २०७६, आईतवार १४:४३