फलेवासमा रुख काट्ने अभियान – स्थानीयको विरोध : मेयरलाई घाँटीको पासो

गण्डकी संचार, पर्वत । फलेवास नगरपालिकाले ‘ग्रिन फलेवास क्लिन फलेवास’ भन्दै घर र खेती योग्य जमिन नजिक रहेको रुख काट्ने अभियान शुरु ग¥यो । घर वरपर क्षेत्रमा रुख धेरै हुँदा बन्यजन्तुहरु बस्तीमा प्रवेश गरेको र उत्पादनयोग्य जमिनमा रुख हुँदा उत्पादनमा ह्रास आएको भन्दै नगरपालिकाले घर र खेती योग्य जमिनको २५ मिटर वरपर रहेका रुख काट्न उर्दी नै लगायो ।

नगरपालिकाले घर वरिपरिको रुख नहटाईएमा जबजस्ती हटाएर खर्च भराउने र वडा तथा नगरवाट केही सेवा सुविधा नदिने चेतावानी सहितको सूचना जारी गरेपछि सर्वसाधारणहरुले नगरको आदेश मानेर धमाधम रुख काटे । नगरपालिकाको यो निर्णयले साबिकको खानीगाउँ गाविसमा रुख काट्ने ठुलो लहर चल्यो । टोल विकास समितिको रोहवरमा जथाभावी रुख काटियो । जंगल र रुख फडानी गर्दा वातावरणमा पर्ने नकरात्मक प्रभावको बारेमा विचार नगरिएकोमा अहिले स्थानीय आक्रोशित भएका छन् ।

नगरपालिकाको निर्णय अनुसार आझेल परेको र लिड्के मेसोले रुख काट्न नभनिएपनि कतिपय वडामा जथाभावी रुख काटिएको भन्दै नागरिकहरु नै बिरोधमा उत्रिएका छन् । नगरको निर्णयप्रति अहिले सामजिक सञ्जालमा चर्को आलोचना भएको छ । घरमा कोही नभएको मौका छोपेर घर नजिकका रुख काटेको भन्दै खानीगाउँका प्रेम शर्मा लम्सालले फेसबुक मार्फत नगरपालिकाको ध्यान आर्कषण गराएका छन् । उनले फेसबुकमा लेखेका छन् । ‘फलेवास नगरपालिकाले अहिले ग्रीन र क्लिन फलेवास भन्दै रुख काट्ने अभियान भन्दै हाम्रो घरको कम्पाउण्ड भित्र नै गएर हामी कोइ नभएको मौका छोपेर विभिन्न फलफुलका बिरुवा काटेको छ । कम्पाउण्ड लगाईएको रुख आफु खुशी मनलाग्यो तरिकाले रुख काट्नु गैरकानुनी काम हो ।’

स्टाट्स……..

फलेवास नगरपालिका ले अहिले ग्रीन र क्लिन फलेवास भन्दै रुख काट्ने अभियान संचालन गरेको रहेछ। हाम्रोमा पनि (फलेवास नगरपालिका ५ नम्बर वाड साविकको खानीगाऊमा), घर कम्पाउंड भित्र नै गएर हामी कोइ नभएको वेलामा अम्ब्रपाली आप, नासपती, अम्बा, कटहर लगायतका थुप्रै रुख काटेछन् | कसैको साध सिमानामा परेको, ओसेपिलो रुखहरु , जात, महत्व आदि वर्गीकरण सहितको ट्यागिंग गरेर, पुर्व सूचना दिएर, सहमतीले हटाऊ भन्ने कुरा एउटा हो | तर सम्बन्धित मान्छेलाई जानकारी नै नगराई, अर्काको घर कम्पाउंडमा लगाईएको रुख आफु खुशी जुनमन लाग्यो त्यहि काट्नु पूर्ण रुपमा गैर कानुनी काम हो | रुख बिरुवालाई ब्यबस्थीत गर्ने हो , क्लीन गर्ने होइन !
अहिले जे भइ रहेछ एकदम गलत भइ रहेछ | फलेवास नगरपालिकाले यो गलत निर्णयलाई सकेसम्म छिटो सच्याओस |

जथाभावी रुख काटेको भन्दै लम्सालले मात्र होईन अन्य व्यक्तिले पनि नगरपालिकाको निर्णयप्रति विरोध गरेका छन् । सामजिक सञ्जाल सँगै मेयरलाई टेलिफोन र भेटेरै जथाभावी रुख काट्ने अभियानको तत्काल रोक्नुपर्ने उनीहरुको माग छ ।

रुख काट्ने अभियान मेयरको घाँटीमा पासो

जथाभावी रुख काटेको भन्दै खानीगाउँका स्थानीयले मात्र होईन अहिले मेयर पदमपाणि शर्माको सर्वत्र आलोचना भएको छ । रुख काट्ने अभियानको तिव्र विरोध भएपनि फलेवास नगरपालिका यो बिषयमा मौन छ । घर वरपर क्षेत्रमा रुख धेरै हुँदा बन्यजन्तुहरु बस्तीमा प्रवेश गरेको र उत्पादनयोग्य जमिनमा रुख हुँदा उत्पादनमा ह्रास आएको भएपनि जथाभावी रुख काट्ने अभियानले राहात भन्दा पनि आहात पुगेकोे स्थानीयको गुनासो छ । रुख काट्ने अभियानलाई व्यवस्थित बनाउन जति ढिलो हुन्छ त्यति यो अभियान मेयर शर्माका लागि घाँटीको पासो हुने जानकारहरु बताउँछन् ।

रुख काट्ने अभियान फलेवास नगरपालिकाको होईन : प्रवक्ता

क्लिन र ग्रिन फलेवास भन्दै अहिले वडा तहमा रुख काट्ने अभियान तिव्र छ । तर, नगरपालिकाका प्रवक्ता टिकाराम गौडेलले रुख काट्ने अभियान फलेवास नगरपालिकाको नभएको दाबी गर्छन । ‘रुख काट्ने अभियान मुडिकुवावाट शुरु भएको हो, प्रवक्ताले भने,‘ घरको २५ मिटर अठ्यारो र ओझल परेका रुख काट्ने र खेतीयोग्य र बाटोको १० मिटर भित्रका रुख काट्यौँ ।’, अहिले अन्य वडाले क्लिन र ग्रिन भन्दै रुख काटेको प्रति उनले आक्रोश व्यक्त गरे । ‘क्लिन र ग्रिनको अवधारण रुख काट्ने हाईन, रुख संरक्षण गर्ने हो’,–उनले भने ।  रुख काट्न परे पुराना रुख काटेर नयाँ बिरुवा लगाउने हो । बडरका रुख, सन्तला र फलफुलका विरुवा काटेर कसरी ग्रिन र क्लिन हुन्छ उनले प्रश्न गरे । खानीगाउँ, देविस्थान र शंकरपोखरीमा जथाभावी रुख काटेको भन्दै उनले जथाभावी रुख काट्न नहुने तर्क गरे ।  

व्यक्तिको सहमति विना रुख काटे कारबाही हुन्छ : बन डिभिजन

स्थानीय तहको निर्णय भन्दै फलेवास नगरपालिकाका विभिन्न वडामा रुख काट्ने काम धमाधम भैरहेको छ । बस्ती नजिकका रुख काट्ने क्रममा वन कार्यालय संग भने सरोकार नै राखिएको छैन् । जथाभावी बन काट्दा गम्भिर प्रतिकूल वातावरणीय समस्या उत्पन्न हुनसक्ने र अर्कोतिर ब्यक्तिको सहमति विना त्यसरी रुख कटान गर्दा ब्यक्तिको सम्पत्ति र स्वच्छ वातावरण सम्बन्धि हक समेत हनन् हुनसक्ने भएकोले विधि र प्रक्रिया पुराई ब्यक्तिको सम्पत्ति र वातावरणीय स्वच्छता सम्बन्धि हक समेतलाई मध्यनजर राखि आफ्नो अधिकारक्षेत्र भित्र रहेर कार्य गर्न गराउन बन डिभिजन कार्यालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति ५ माघ २०७६, आईतवार १५:११