एनआरएनएका कोषाध्यक्ष महेश श्रेष्ठलाई पर्वतमा भव्य सम्मान र स्वागत

माघ ६, पर्वत । गैरआवासिय नेपाली संघ एनआरएनएका केन्द्रिय कोषाध्यक्ष एवं सफल व्यवसायी महेश कुमार श्रेष्ठलाई कुश्मामा स्वागत तथा सम्मान गरिएको छ । नेपाल बाल संगठन जिल्ला कार्य समिति पर्वतले बाल मन्दिर प्राविमा श्रेष्ठलाई स्वागत सहित सम्मान गरेको हो ।

गैह्र आवासीय नेपालीहरुको हकहित र उनीहरुको सीप तथा क्षमताको प्रयोग आफ्नो जन्मभूमिको विकासका लागि गर्नुभएको योगदानको मुल्याङन गदै संसारभरि छरिएर रहेका गैर आवासिय नेपालीहरुको संस्था गैर आवासीय नेपाल संघ अन्तराष्ट्रिय समन्वय समितिको अधिवेशनवाट कोषाध्यक्ष पदमा निर्वाचित भएकोमा उहाँलाई स्वागत तथा सम्मान गरिएको हो ।

 नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य अर्जुनप्रसाद जोशी, नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुषाल, कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, नेपाल बाल संगठन पर्वतका अध्यक्ष तथा बालमन्दिर प्राविका अध्यक्ष निर्मल विश्वकर्मा लगायतले दोसल्ला ओढाएर फुल माला र सम्मानपत्रले सम्मान गर्नुभएको हो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य जोशीले एनआरएनएमा पर्वतेलीहरुको सहभागिता, उम्मेदवारी र विजयले जिल्लाको गरिमा बढेको बताउनु भयो । श्रेष्ठ कोषाध्याक्षमा विजय हुँदा जिल्लाको सान र गौरव बढेको बताउँदै नेता जोशीले पदीय मर्यादालाई ध्यानमा राखेर काम गर्न आग्रह गर्नुभयो । उहाँले प्रवासीहरुको सद्भाव र सहयोग संगै मन पनि जोड्नुपर्ने दायित्व पुरा गर्न कोषाध्यक्ष श्रेष्ठलाई आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता जोशीले दलिय प्रभाव र विचार भन्दा माथि उठेर जिल्लाको विकासमा केन्द्रित हुन सम्पूर्ण प्रवासीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुषालले श्रेष्ठको विजयले सिंगो पर्वतलाई खुशी तुल्याएको बताउनु भयो ।

 गैरआवासिय नेपाली संघ एनआरएनएका केन्द्रिय कोषाध्यक्ष श्रेष्ठले मुलुकको शिक्षा प्रणालीलाई गुणस्तर बनाउन एनआरएनएले सहयोग गर्ने बताउनुभयो । उहाँले एनआरएनलाई नयाँ ढंगवाट मुलुकको विकासमा एनआरएनए लागि परेको दावी गर्नुभयो । साथै विद्यार्थीको शैक्षिक विकासका लागि १० लाख सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशीले नगरको विकासमा प्रवासीको भूमिका महत्वपूर्ण रहेको जिकिर गदै सहकार्य र सहयोगका लागि आग्रह गर्नुभयो । कालीगण्डकी एकेडेमीका प्रिन्सीपल बसन्तकुमार कर्माचार्यले विद्यालयमा दिवा खाजा कार्यक्रमका लागि १ लाख सहयोग गर्ने घोषण गर्नुभयो । कुश्मा नगरपालिका ५ की वडा अध्यक्ष चित्रकला भारतीले विद्यालयको गुणस्तर बढाउनका लागि ५लाख सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

नेपाल बाल संगठन जिल्ला कार्य समिति पर्वतका अध्यक्ष निर्मल विश्वकर्माले दिवा खाजा कार्यक्रमका लागि १ लाख सहयोग गर्ने उद्घोष गर्नुभयो । अध्यक्ष विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मानकुमारी गिरी र कार्यक्रमको सञ्चालन सचिव सरस्वती शर्मा जिज्ञासुले गर्नुभएको थियो ।

प्रकाशित मिति ६ माघ २०७६, सोमबार १७:५१