सांसद दुर्गा पौडेलद्वारा उपसभामुख बन्ने प्रस्ताव अस्वीकार

माघ ७, काठमाडौँ । नेकपा बाहेकका ठूला दलहरुबीच उपसभामुख बन्ने रस्साकस्सी चलिरहेका बेला प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले सत्तारुढ नेकपाले उपसभामुखका लागि गरेको ‘अफर’ अस्वीकार गरेकी छन् ।

प्यूठानबाट निर्वाचित राष्ट्रिय जनमोर्चा९राजमो० की सांसद पौडेललाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल आफैले उपसभामुख बन्नका लागि प्रस्ताव गरेका थिए ।
‘अध्यक्ष दाहालले नै सांसद पौडेललाई उपसभामुखका लागि प्रस्ताव गर्नुभएको थियो’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘तर राजमोबाट एकजना मात्र सांसद भएको भन्दै उहाँले उपसभामुखको जिम्मेवारी निर्वाह गर्न आफू असमर्थन रहेको बताउनु भयो ।’

शिवमायाँ तुम्बाहाम्फेको उपसभामुखबाट राजीनामाको चर्चा चलिरहेका बेला नेकपा अध्यक्ष दाहालले राजमो अध्यक्ष चित्रबहादुर केसीसँग पौडेललाई उपसभामुख बनाउने विषयमा सल्लाह गरेका थिए । तर, उपसभामुखको जिम्मेवारी पार्टीका लागि अवसर भए पनि राजमोको तर्फबाट प्रतिनिधि सभामा एकजना सदस्य पौडेल मात्र भएकाले उपसभामुख स्वीकार गर्न अप्ठेरो भएको जवाफ केसीले दाहाललाई दिए । नयाँ पत्रिकावाट साभार

प्रकाशित मिति ७ माघ २०७६, मंगलवार ११:४१