विहादीमा औद्योगिक ग्राम सञ्चालन हुँदै

माघ ७, पर्वत । पर्वतको विहादी गाउँपालिकामा औद्योगिक ग्राम सञ्चालन गरिने भएको छ । गण्डकी प्रदेश सरकारले औद्योगिक ग्राम स्थापना सम्बन्धी नीतिगत निर्णय गर्न संघिय मन्त्रिपरिषदमा पठाएकोमा मन्त्रीपरिषदले स्विकृति दिएको छ ।

मन्त्रिपरिषद्ले गण्डकी प्रदेशमा विहादी गाउँपालिका सहित ११ वटा औद्योगिक ग्राम र २ वटा औद्योगिक क्षेत्रको स्थापना गर्न स्वकृत गरे सँगै औद्योगिक ग्राम स्थापना गर्न बाटो खुलेको हो । औद्योगिक ग्राम सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले रु ९२ लाख रकम बिनियोजन गरि विहादी गाउँपालिका सँग सम्झौता समेत गरेको छ ।

गण्डकी प्रदेश सरकारले रु ६० लाख तथा बाँकी गाउँ पालिकाको लगानीमा औद्योगिक ग्राम सञ्चालन गरिने गर्न लागिएको हो । गाउँ कार्यपालिकाको बैठकबाट औद्योगिक ग्राम सञ्चालनका लागि वडा नं. २ बर्राचौर स्थित तिलाहारचौरमा जग्गा छनोट गरिसकिएको गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुषालले जानकारी दिनुभयो । औद्योगिक ग्राममा विशेष गरी स्थानीय स्तरमा उपलब्ध हुने कच्चा पदार्थ, अर्धप्रशोधित कच्चा पदार्थ वा खेर गएको वस्तु प्रयोग गरी वा प्रशोधन गरी उत्पादन गर्ने उत्पादनमूलक उद्योग सञ्चालन हुनेछ ।

स्थानीय स्तरमा प्राप्त हुने कोदो,मकै,धान,कहुँ,फापर,दुध ,मह ,चिया कफी ,फलफूल जडीबुटी लगायत वस्तु प्रयोग गरी वा प्रशोधन गरी उत्पादनमुलक उद्योग निर्माण गर्ने उद्देश्य छ । प्राकृतिक रेशा उत्पादन वा रेशामा आधारित उधोग तथा काठ बेतबाँसजन्य फर्निचर उद्योग सञ्चालन गर्न सकिने छ भने सौर्य उर्जा, नवीकरणीय उर्जा उत्पादन गर्न मेसिन उपकरण निर्माण सँग सम्बन्धित उद्योग ,बायोग्यास प्लान्ट उद्योग समेत सञ्चालन गर्न सकिने जनाईएको छ ।

प्रकाशित मिति ७ माघ २०७६, मंगलवार १६:२९