अध्यक्ष मण्डललाई  नेताहरुको खबरदारी : चोर बाटोबाट मन्त्री नबन

माघ ७, पर्वत । राष्ट्रियसभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०सँग हात मिलाएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सभामुख निर्वाचनमा पनि सत्तारुढ दलको सारथी बन्न पुग्यो ।

सम्भवतः उपसभामुख पनि पाउनेछ । तर नेकपासँग सहकार्य गर्ने विषय पार्टीको कुनै कमिटीबाट निर्णय त परको कुरा, छलफल समेत भएको छैन । नेताहरुकाअनुसार अध्यक्षमण्डलका सदस्यद्धय महन्थ ठाकुर र राजेन्द्र महतोको सल्लाहमा नै सबै काम भइरहेको छ ।

त्यसैले राजपाकै नेताहरुलाई शंका लाग्न थालेको छ, नेताहरु यसरी नै सुटुक्क सरकारमा जाने त होइन ?

राजपा वरिष्ठ उपाध्यक्षद्वय सर्वेन्द्रनाथ शुक्ल र वृषेशचन्द्र लाल, उपाध्यक्षद्वय गोविन्द चौधरी र रमेशप्रसाद यादव तथा महासचिव विजयकुमार सिंहले अध्यक्ष मण्डलका संयोजकलाई बुझाएको पत्रमा पनि यही आशंका गरिएको छ । राजपा सरकारमा जाने चर्चा भइरहेको भन्दै पत्रमा भनिएको छ, ‘यस बीचमा भएका भेटघाटहरूका समाचारले यसको पुष्टि पनि गर्दछ ।’

‘पार्टीमा छलफल नै नगर्ने तर बाहिर चोचोमोचो मिलाएर मन्त्री बन्न लागेपछि आमकार्यकर्ताको प्रतिनिधित्व गर्दै हामीले विरोध गर्नुपरेको हो’ पत्रमा हस्ताक्षर गर्ने मध्येका एक उपाध्यक्षले अनलाइनखबरसँग भने, ‘चोर बाटोबाट निर्णय गर्न लागेको सूचना पाएका छौं ।’

प्रकाशित मिति ७ माघ २०७६, मंगलवार १६:५३