कृत्रिम साइनाेकाे जापानी कथा

गत महिना फ्रान्समा सम्पन्न कान्स फिल्म फेस्टिभलको मुख्य पुरस्कार पाम डि ओर जितेपछि जापानी फिल्म ‘सपलिफ्टर्स्’ चर्चामा छ । कान्समा देखाइए पनि यो फिल्म जापानमा भने रिलिज भइसकेको छैन । कोरे–एदा हिरोकाजुले निर्देशन गरेको फिल्म जापानमा आउँदो शुक्रबार जुन ८ देखि चल्ने बताइएको छ ।

आफ्नो करियरभर निर्देशक हिरोकाजुले पारिवारिक सम्बन्धका बारेमा कथा उतार्दै आएका छन् । पारिवारिक कथाव्यथा वास्तवमा जापानी समाजको आत्मा भेटाउन सकिन्छ । फिल्मको नामै ‘सफ्टलिफ्टर्स्’, सुन्दै थाहा हुन्छ यो पसलमा चोरी गर्नेहरुको कथा हो ।

एक गैरइमान्दार निम्न वर्गको परिवार र अरु जापानीबीचको भिन्नतालाई प्रष्ट्याउने प्रयास निर्देशकले गरेका छन् । निम्न वर्गको एउटा परिवार पैसाको अभावले ग्रसित हुन्छ । परिवारका बच्चाबच्चीलाई पैसा कमाउनका लागि चोरी गर्न पनि अधिकार दिइएको छ ।

यो एउटा विचार र भावुकताले भरिएको फिल्म हो, जसमा निर्देशक हिरोकाजुका अघिल्ला फिल्म ‘नोबडी नोज’ र ‘आफ्टर दि स्टोर्म’मा जस्तै परिवारका खुसी र बेखुसी पस्किएको छ । फिल्मलाई सम्झनायोग्य पात्र र कलाकारका विश्वसनीय अभिनयले समाजको मर्मस्पर्शी परावर्तनजस्तै लाग्ने बनाएको छ ।

फिल्म केही स्लो लाग्न सक्छ । तर, नम्र स्वभावका निर्देशकको स्टोरीटेलिङ स्टाइल पनि नम्र नै महसुस हुन्छ । सायद दर्शकको हृदय फिल्मको यही मन्द गतिका कारण नै पग्लिनसक्छ ।

ओसामु शिबाता नामक पात्रको कृत्रिम परिवारको कथा रहेको फिल्म एउटा चिसो हिउँदकालीन रातबाट सुरु हुन्छ ।

ओसामु र उसको छोरा एकदिन सधैंझैं चोरीचकारीका लागि एउटा ग्रोसरी स्टोरमा जाँदा जाडोमा कठ्यांग्रिएकी चार वर्षीया बच्ची देखिन्छे । ओसामुलाई माया लाग्छ र उसले घरमा लैजान्छ । ओसामुकी पत्नी नोबुयोलाई चाहिँ यो कुरा मन पर्दैन । ऊ आफ्नो परिवारमा खाने मुख बढेको देख्न चाहदिनँ । तर, जब बच्चीको पाखुरामा डढेको खत देख्छे, उसले आफ्नो विचार बदल्छे र बच्चीलाई अँगाल्छे ।

त्यो बच्ची युरी बिस्तारै परिवारसँग घुलमिल हुन्छे । उसको र शोताको मित्रता बलियो बन्दै जान्छ । नोबुयोले उसलाई छोरीजस्तै मान्छे । हजुरआमा चाहिँले पनि युरीलाई मन पराउँछे ।

सबैजना खुसी नै हुन्छन् । त्यो थोत्रो घर भए पनि युरीले नयाँ खालको खुसी ल्याइदिएकी छे । तर, बिस्तारै त्यो खुसी हराएर जान्छ ।

पुलिसले युरीलाई खोज्न थाल्छ । ओसामुले युरीको कपाल काटेर हुलिया बदलिदिन्छ र नाम पनि रिन भनेर राखिदिन्छ । ऊ युरीलाई फिर्ता पठाउने पक्षमा देखिँदैन ।

वास्तवमा युरीमात्र होइन ओसामुको पत्नीबाहेक बाँकी परिवारको सम्बन्ध पनि कृत्रिम हुँदोरहेछ । कुन पात्रको कुन पात्रसँग कस्तोखाले आत्मीयता छ । त्यो समूह कसरी परिवारका रुपमा स्थापित हुँदैगयो, फिल्मले बिस्तारै केलाउँदै जान्छ । फिल्मको अन्तिम ३० मिनेटमा परिवारसँग गाँसिएर रहेको रहस्य खुलासा हुन्छ ।

निर्देशकको सन् २००४ को फिल्म ‘नोबडी नोज’जस्तै यो ‘सपलिफ्टर्स्’ पनि पत्रिकामा छाएिको एउटा समाचारबाट प्रभावित छ । निर्देशकको स्वच्छ शैलीका कारण फिल्म कलात्मक बनेको छ ।

जस्तोसुकै कठिन वा जोखिमपूर्ण काम गरेर भए पनि पैसा जुटाउँदै ओसामुको परिवारले युरीलाई खुसी बनाइराख्छ । बरु युरीको असली अभिभावक चाहिँ ठिक विपरीत छ । निर्देशक संवेदनालाई हल्का रुपमा पस्किए पनि केही दृश्यमा त्यो गह्रौं हुनपुगेको छ ।

ओसामुकी पत्नीको भूमिकामा एन्दो साकुराले गजबको अभिनय गरेकी छिन् । हजुरआमा र युरीको भूमिका निर्वाह गर्ने कलाकार पनि बेजोड लाग्छन् । उनीहरुले गहिरो छाप छाड्छन् ।

सिनेमाटोग्राफर कोन्दो र्युतोसँग पहिलोपटक काम गरेका निर्देशक हिरोकाजुले फिल्ममा न्यानो तर भताभुंग ढंगको लाग्ने दृश्य उतारेका छन् । जबकि हिरोकाजुको अघिल्लो फिल्म ‘द थर्ड मर्डर’को छायांकन एकदम औपचारिक लाग्थ्यो ।

(हलिउड रिपाेर्टर डटकमबाट भावानुवाद ।)

प्रकाशित मिति १७ जेष्ठ २०७५, बिहीबार १०:३८