रसुवागढी नाकाबाट १५ दिन आयात–निर्यात नहुने

माघ ८, पर्वत । नेपाल र चीनबीच सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आयात–निर्यात ठप्प भएको छ । चिनियाँ भूभागमा हिमपातपश्चात् सुक्खा पहिरो गएसँगै शुक्रबारदेखि रसुवागढीबाट आयात–निर्यात ठप्प भएको हो ।

चीनको केरुङभन्दा १७ किलोमिटर दक्षिणमा पर्ने स्थानमा पहिरो गएपछि आवत–जावत रोकिएको केरुङमा रहेका नेपाली व्यवसायी पुरुषोत्तम पौडेलले बताए । उनले भने, ‘शुक्रबारदेखि नै आवत–जावत रोकिएको छ, केरुङबाट रसुवागढी आउने करिब १७–१८ किमिमा सुक्खा पहिरो गएपछि सवारीसाधन तथा मानिसहरू आवत–जावत गर्न पाएका छैनन्, हिँडेर आवत–जावत गर्न पनि चिनियाँ पक्षले रोक लगाएको छ ।’ उनका अनुसार चिनियाँ पक्षले नेपाल आउन लागेका कन्टेनर चीनको मुलाडाँडा भन्ने स्थानमा रोकेर राखेको छ । सडक नखुल्दा शुक्रबार सिल लागेका गाडीसमेत नेपाल आउन पाएका छैनन् ।

प्रकाशित मिति ८ माघ २०७६, बुधबार १८:०८