सुत्केरीलाई  नगरपालिकाको कोसेली

माघ ८, पर्वत । स्वर्गद्वारी नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाका लागि ‘उपमेयर कोसेली कार्यक्रम’ सञ्चालन गरेको छ । नगर क्षेत्रका गरिब, विपन्न, पिछडिएका तथा स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसक्ने गर्भवती तथा सुत्केरी महिलालाई उपहार प्रदान गर्न थालिएको हो । उपमेयर गोमा रेग्मीले एक सय ९२ महिलालाई उपहार प्रदान गरेर यो कार्यक्रमको सुरुवात गरेकी छन् ।

नगरका सातवटै स्वास्थ्य संस्थामा पुगेर उनले सुत्केरी महिलालाई हाइजनिक कीट, सेनेटरी प्याड, नेलकटर, तुथपेस्ट, ब्रस, बेबी बक्स, बेबी आयल, डेटोल साबुन, डेटोल झोललगायत सामग्री वितरण गरेकी हुन् ।

एकजना सुत्केरीबराबर करिब २५ सयको सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ । कोचिवाङ, स्वर्गद्वारी, बर्जिवाङ, भिग्री, सारी र सोत्रे स्वास्थ्य संस्थामा पुगेर सुत्केरीलाई उपहार वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले जानकारी दिए ।

प्रकाशित मिति ८ माघ २०७६, बुधबार १८:१५