मन्त्रीपरिषदको निर्णयस् बिजुली बस किन्न साझालाई दिएको ३ अर्ब ब्याजसहित फिर्ता लिने

माघ ९, पर्वत । बिजुली बस किन्नका लागि सरकारले साझा यातायात सहकारीलाई दिइएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ ।
तोकिएको समयमा साझाले बस खरिद गर्न नसकेको भन्दै सरकारले उक्त रकम फिर्ता लिने निर्णय गरेको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताउनुभयो ।

२०७६ असार २४ र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले साझालाई ३ सय वटा नयाँ विद्युतीय बस खरिद गर्न ३ अर्ब रुपैयाँ शेयरमार्फत लगानी गर्ने निर्णय गरेको थियो । यस्तै, सरकारले नयाँ बिजुली बस खरिद गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ३ अर्ब उपलब्ध गराउने निर्णय गरेको छ ।

यसैबिच, मन्त्रिपरिषद् बैठकले जर्मनीको बोनस्थित सरकारको स्वामित्वमा रहेको घरजग्गा बिक्रीका लागि जर्मनीस्थित नेपाली दूतावासलाई अख्तियारी प्रदान गरेको छ ।

त्यस्तै, जयनगर–जनकपुर–बर्दिबास रेलमार्गको जयनगर–जनकपुर–कुर्था खण्डमा रेल सेवा सञ्चालनका लागि आवश्यक दक्ष श्रमिक नेपालीनागरिक आपूर्ति हुन नसेकमा श्रम ऐनअन्तर्गत २६ जना विदेशी दक्ष कर्मचारी नियुक्ति गर्नका लागि स्वीकृत दिएको छ । गुठी संस्थान जाँचबुझले आयोगले सरकारलाई बुझाएको सुझाव प्रतिवेदनअनुसार व्यक्तिको नाममा रहेका गुठीको जग्गा सरकारी स्वामित्वमा लैजाने निर्णय समेत गरेको छ ।

त्यसैगरी, तेह्रथुमका कम्युनिष्ट कार्यकर्ता नेत्रप्रसाद गुरागाईंलाई राष्ट्रिय सहिद घोषणा गरेको छ । बैठकले सेनाका ७ रथी र ९ जना महासेनानीको सरुवा गर्ने लगायत ३२ वटा निर्णय गरेको छ ।

प्रकाशित मिति ९ माघ २०७६, बिहीबार १४:१७