राज्यको बजेट नक्कली र झोले किसानलाई बाँडेकोप्रति काँग्रेस नेता जोशीको आक्रोश

माघ १०, पर्वत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले राज्यको बजेट बास्तविक किसानलाई भन्दा कार्यकर्ता र झोले किसानको हातमा पुगेको वताउनु भएको छ । काँग्रेस नेता जोशीले जलजला गाउँपालिका १ बाँसखर्कमा बजारमारे सुन्तला उत्पादन सहकारी संस्था लिमिटेडद्वारा निर्माण गरिएको शीतभण्डारको शुक्रबार उद्घाटन गर्दै उक्त कुरा वताउनु भएको हो । ‘ सरकारको बजेट बास्तविक उद्यमी र किसानहरुले भन्दा पनि झोले कार्यकर्ताहरूले पाएका छन् , नक्कली किसानलाई निरुत्साहित गरेर गरिखाने किसानलाई दिउँ, मुलुक समृद्ध बन्छ ।’ काँग्रेस नेता जोशीले भन्नु भयो । उहाँले बजेटलाई वितरणमुखी भन्दा किसानमुखी बनाउन सम्वन्धित निकायको ध्यानाकर्षण समेत गराउनु भएको थियो ।

लामो समयसम्म पर्वतको जनप्रतिनिधिका रूपमा काम गरेका काँग्रेस नेता जोशीले देशका हरेक युवाहरू रोजगारी खोज्न विदेश पलायन भएको वेला बाँसखर्कका युवाहरूले संचालन गरेको कृषि उद्यमलाई राज्यले प्रोत्साहन गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । उहाँले बाँसखर्कबासीहरूको मेहनत र उद्यमले बाँसखर्कले मुलुकमै आफ्नो अलग पहिचान बनाएको वताउँदै सुन्तला उत्पादनबाट यहाँका जनताको समृद्धि र पहिचान बढेको र रोजगारीको अवसर समेत सिर्जना भएको वताउनु भएको थियो । नेता जोशीले विगतमा आफू जनप्रतिनिधि हुँदा यस क्षेत्रको बाटो, बिजुली, खानेपानी, सिंचाई र स्वास्थ्यको क्षेत्रमा धेरै काम गरेको जानकारी दिँदै अझैपनि यहाँको विकासका लागि निरन्तर समर्पित हुने प्रतिबद्धता जनाउनु भएको थियो ।

कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०ले बाँसखर्क गाउँ र यहाँको सुन्तला जलजला गाउँपालिकाको गौरव भएको वताउँदै यहाँका सुन्तला कृषकहरुलाई प्रर्वद्धन गर्न गाउँपालिका सँधै प्रतिबद्ध रहेको वताउनु भएको थियो । उहाँले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएको वताउँदै स्थानीय सरकारमाथि केन्द्र र प्रदेश सरकारको हस्तक्षेपकारी भूमिका कारण काम गर्न कठिनाई भएको जानकारी दिनुभयो । अध्यक्ष मल्लले बेनी(बाँसखर्क मोटरबाटोको स्तरोन्नति देखि सुन्तला किसानको लागि प्रवर्द्धनात्मक कार्यक्रममा गाउँपालिकाले सहयोग गर्ने विश्वास दिलाउनु भएको थियो । उहाँले वर्तमान सरकारले नयाँ संविधानले दिएको अधिकारलाई समेत स्थानीय तहलाई उपभोग गर्नबाट बञ्चीत गराएको आरोप लगाउनु भएको थियो ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका सचिव अच्युतप्रसाद ढकालले जलजलाको बाँसखर्क अति रमणीय र सुन्तलाको उत्कृष्ट भूगोल भएको दाबी गर्दै बाँसखर्कमा निर्माण भएको यो शीतभण्डार सुन्तला किसानलाई एक टोकनको रूपमा दिइएको वताउनु भएको थियो । सचिव ढकालले अझै ठूलो शीतभण्डारको लागि यहाँका कृषकहरुले सुन्तलाको उत्पादनलाई बढाउँदै लान सुझाव दिनुभएको थियो । उहाँले बाँसखर्कको सुन्तला मुलुककै गुणस्तरीय सुन्तला भएको दाबी गर्नुभएको थियो ।

कार्यक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मी, जलजला गाउँपालिका वडा नं १ का वडा अध्यक्ष तुलसीराम रेग्मी र नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य डाक्टर चूडामणि शर्मा लगायतले बोल्नुभएको थियो ।

बजारमारे सुन्तला उत्पादन सहकारी संस्थाका अध्यक्ष जगतबहादुर खत्रीको सभापतित्वमा कार्यक्रमको संचालन सचिव ख्यामबहादुर खत्रीले गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाका शेयर सदस्य नरबहादुर खत्रीले गर्नु भएको थियो । कार्यक्रममा सहकारीका कोषाध्यक्ष रेवती खत्रीले संस्थाको आयव्यय प्रस्तुत गर्नुभएको थियो ।

भवन कृषि ज्ञान केन्द्रबाट ४८ लाख ६२ हजार, सहकारीबाट आठ लाख ५९ हजार तीनसय ४०, सदस्यहरुबाट पाँच लाख ३४ हजार नौसय, वडा कार्यालयबाट एकलाख १५ हजार र पोखरीको श्रमदानबाट १५ लाख गरि झण्डै ७८ लाख ७१ हजारको लागतमा निर्माण भएको सहकारीले जानकारी दिएको छ ।

प्रकाशित मिति १० माघ २०७६, शुक्रबार १६:०१