फलेवासको शान कसरी पुनर्स्थापित गर्ने ?

सुझावकर्ताजगदिश शर्मा

१. सडक संजालको विकास नहुन्जेल फलेवासको पहिचान भनेको त्यस भेगको शैक्षिक केन्द्र, आँप, कटहर फल्ने ठाउं, खुला चौर, सहर बाटोको दायांबाया पंक्तिवद्ध बरपिपलका चौतारी र चौतारीका आडैमा मौलो सहितको चारकुने पोखरी हुन्थ्यो । त्यही सहरबाटोमा कार्किनेटा हुँदै पोखरा र कुश्मा, बाग्लुङ जाने यात्री अनि पाल्पा गुल्मी देखिका मुक्तिनाथका तिर्थयात्री हिंड्थे ।
२. ४७/४८ सालमा पोखरा बाग्लुङ सडक निर्माण भएपछी फलेवास कार्किनेटा हुँदै पोखरा जाने र फलेवास हुँदै मुक्तिनाथ जाने मार्ग स्वभाविक रुपमा बन्द हुने नै भयो यसले गर्दा फलेवासको चहलपहल सुस्तायो जस्ले गर्दा फलेवासको आर्थिक कृयाकलापमा स्वभाविक शिथिलता आयो ।
३. ४७ सालसम्म जिल्ला सदरमुकाम कुश्मा प्रशासनिक केन्द्र हुंदाहुंदै पनि अन्य बिषयमा कुश्मा भन्दा फलेवास अनेक हिसाबले कुश्माको हाराहारी वा प्रतिस्पर्धि ठाउँ थियो । कृषि र शिक्षामा त अब्बल थियो ।
४. हाल फलेवास किन पिछडियो त ? किनकी ३० बर्ष बिते अझै पनि फलेवास सम्म सडक यातायातको भरपर्दो विकास हुन सकेको छैन ।
५. तर यतिबेला फलेवासलाई ४७ साल पहिलेकै आर्थिक सामाजिक रुपमा पुनर्स्थापित गर्ने अवसर छ । त्यसको लागि फलेवासलाई माया गर्ने सबै देश तथा विदेशमा रहनुभएका आम जनसमुदाय, फलेवासी भुमिमा जन्म लिइ देश तथा विदेशमा रहेर विभिन्न विधामा विज्ञता हासिल गर्नुभएका बुध्दिजिवी वर्ग र सबै तहका जनप्रतिनिधिले निम्न कुरामा चासो दिनुपर्ने हुन्छ :
क) फलेवास लुन्खु र लुन्खु हुवास सडक कालोपत्रे स्तरमा निर्माणको ठेक्का चालू छ । यो सडक बिना कुनै बाधा अवरोध निर्माण हुने वातावरण सृजना गर्ने ।
ख) मल्यांग्दी खोला देखि फलेवास ढिक सडक कालोपत्रे स्तरमा निर्माणको ठेक्का चालू छ । यसको निर्माणमा कुनै बाधा व्यवधान नहुने बाताबरण सृजना गरौं ।
ग) कालीगण्डकी लोकमार्ग अन्तर्गतको अर्मादी देखि लमाए खोला सम्मको खण्डमा लामो समय देखि समस्या देखिएको छ, काम अलपत्र छ; मोदि खोला र लमाएखोलाका सडकपुल सकिएका छैनन । हाम्रै फलेवास खण्डमा झन समस्या देखियो; समाधान खोजौं ।
घ) जैमुनी घाटमा कालीगण्डकी नदिको सडकपुलको निर्माण अलपत्र छ; समस्याको जरो पहिल्याएर समाधान खोजौं ।
ङ) सुम्साघाटमा सडकपुलको निर्माण कार्य यसै आ व देखि सुरु हुनेगरी बजेट छुट्टिएको छ; तर हालसम्म किन ठेक्का लागेन ? सोधखोज गरौं ।
) जैमुनी खानिगाउं कार्किनेटा सडक RCIP आयोजनाले छनोट गरेको छ । नगरपालिका र प्रदेशबाट सानोतिनो बजेट राखेर नगिजलौं, फुत्केला ! यसमा सचेत बनौं ।
छ) फलेवास नगरपालिकाको केन्द्र खानिगाउं हो भनेपछी अब नगरपालिका स्तरिय सडक पुर्वाधार कुश्मामुखी वा स्याङ्जा/ पोखरा मुखी हैन कि खानिगाउंमुखी बनाऔं ।
) नगरपालिकाको प्रशानिक भवन बनाउन अझसम्म पनि तदारुकता नदेखिनु उदेकलाग्दो बिषय भएको छ; यो महत्त्वपूर्ण बिषय हो; सबैले चासो राखी गांठो फुकाऔं ।
झ) पर्वत बहुमुखी क्याम्पस जो तत्कालिन धौलागिरी अञ्चलमा बाग्लुङ पछिको दोश्रो एतिहासिक उच्च शिक्षालाय हो; नगरपालिकाको व्यवस्थापनमा संचालन गरौं ।
यति गरौं त अरु कुनै भाकायुक्त नारा लगाउनै पर्दैन; हाम्रो फलेवास यसै आफ्नो पुरानै शानमा फर्किन्छ । जय फलेवास

शर्मा फलेवास नगरपालिका–६ देविस्थान निवासी हुन् ।

प्रकाशित मिति १० माघ २०७६, शुक्रबार १७:३३