अग्निको पक्षमा ओली, एमसीसीको पक्षमा  प्रचण्ड

माघ ११, पर्वत । प्रधानमन्त्रीको सरकारी सचिवालयले ६ माघ बिहान नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुसँगै चिया पिउन बसेको तस्वीर सार्वजनिक गर्‍यो । पारिलो घाममा बसेका ओली र प्रचण्डको तस्वीरमा नेताद्वय हँसिलो मुद्रामा देखिन्छन् । अध्यक्षद्वयले लगाएका पहिरन फरक खालका रहे पनि तिनको रंग एउटै छ ।

ओलीले नीलो रंगको लङ कोट पहिरिएका छन् भने प्रचण्डले पनि नीलै रंगको ज्याकेट लगाएका छन् । शीर्ष नेताद्वयको शीरमा एकै खालको टोपी छ, कालो रंगको भादगाउँले टोपी । बालुवाटारमा हुने नेकपाको बैठकमा यसअघि आफ्नो ‘सिनियारिटी’ देखाउन ओलीका लागि विशेष खालको कुर्सी राखिएको हुन्थ्यो, प्रचण्डका लागि सामान्य खालको । तर, ६ माघमा सार्वजनिक गरिएको तस्वीरमा ओली–प्रचण्ड सेतो रंगको एउटै खालको कुर्सीमा बसेका छन् ।

बालुवाटार वार्ताका दुई सहमति

त्यसै दिन अपरान्ह बसेको नेकपा सचिवालय बैठकले प्रतिनिधि सभाको रिक्त सभामुखमा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गर्‍यो । तर, सचिवालय बैठकको निर्णयअघि ओली–प्रचण्डको हंशमुख तस्वीरसँगै अर्को एउटा समाचार पनि बालुवाटारबाटै सम्प्रेषित भइसकेको थियो । त्यो हो, सापकोटालाई प्रतिनिधि सभा सभामुखको उम्मेदवार बनाउने अध्यक्षद्वयबीचको सहमति ।

त्यस बिहान ओली–प्रचण्डबीच सापकोटालाई सभामुखको उम्मेदवार बनाउने विषयमा त सहमति जुट्यो नै । थप दुई विषयमा पनि नेताद्वयबीच सहमति जुटेको थियो । प्रचण्डले ती सहमतिको संकेत शुक्रबार गरेका छन् ।

नवलपुरमा आयोजित पार्टी कार्यक्रममा प्रचण्डले शुक्रबार दुई कुरामा जोड दिएका थिए । एक, सरकारले पार्टी चलाउने होइन, पार्टीले सरकार चलाउने हो । दुई, अमिल्दा कुराहरुलाई हटाएर भए पनि मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० पारित गरिनेछ ।

एमसीसी पारित गर्ने कि नगर्ने भन्ने विषय सत्तारुढ नेकपामा यतिबेला निकै पेचिलो विषय बनेको छ । एमसीसी अमेरिकाको इण्डो प्यासिफिक स्ट्राटेजी ९आइपीएस०को अंग भएको भन्दै यसको विपक्षमा थिए( प्रचण्ड । र, उनको अनिच्छाका कारण सरकारले पारितका लागि संसदमा दर्ता गराए पनि निवर्तमान सभामुख कृष्णबहादुर महराले यसलाई प्रक्रियामा लगेका थिएनन् ।

बरिष्ठ नेकपा नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका नेता एमसीसीको विषयमा मौन छन्, पारित गर्ने वा नगर्ने भन्ने विषयमा खुलेका छैनन् । तर, उनीहरु निकट भीम रावललगायतका नेताहरु भने एमसीसी पारित गर्न नहुने पक्षमा मुखर बने, जसले गर्दा नेकपामा एमसीसी पारित गर्न नहुने विषयमा प्रचण्डलाई थप भरथेग मिल्यो ।

आ–आफ्नै बाध्यता

एमसीसी पारित गर्न असहयोग गरेको भन्दै प्रधानमन्त्री ओलीले निशाना महरामाथि साँधे । तर खासमा प्रचण्डको दबाबका कारण एमसीसी पारितका लागि महराले प्रतिनिधि सभाबाट प्रक्रिया अघि बढाएका थिएनन् ।

एमसीसीका विरुद्धमा नेकपाभित्र बन्दै गरेको माहोल प्रधानमन्त्री ओलीका लागि निकै पेचिलो विषय बन्दै आएको थियो । दुई कारणले यो विषय ओलीका लागि पेचिलो बन्यो ।

एक, पारितका लागि संसदमा पेश गरिसकेको स्थितिमा पार्टीका कारण फिर्ता लिने हो भने, उनको अन्तर्राष्ट्रिय विश्वसनीयता ह्रास आउने थियो । महाशक्ति अमेरिकासँगको सम्बन्धमा नै आशंका सिर्जना हुने गरी उनी एमसीसी पारित गर्ने प्रक्रिया फिर्ता लिने पक्षमा थिएनन् ।

दुई, पार्टीभित्र विरोधका बावजुद पारितका लागि प्रतिनिधि सभामा पेश गर्ने तर पारित हुन नसकेमा त्यसले ओली सरकारमाथि झन् ठूलो संकट सिर्जना हुन सक्थ्यो ।

किनभने, सरकारले पेश गरेको प्रस्ताव संसदबाट अस्वीकृत नहुनु भनेको संसदमा सरकारको बहुमत छैन भन्ने कुरा सिद्ध हुनु हो । सरकारले पेश गरेको नीति तथा कार्यक्रम कांग्रेसकै ३६ भाइ सांसदका कारण अस्वीकृत हुँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद विघटन गरेर मध्यावधी निर्वाचन घोषणा गरेको कुरा यहाँनिर स्मरणीय छ ।

पार्टी एकताअघि पूर्व माओवादीको कोटामा परेको सभामुख पद माओवादीकै पोल्टामा राखेर ओलीलाई ‘चेक एण्ड व्यालेन्स’ मा राख्ने र यसै त गत सालको भेनेजुएला प्रकरणका कारण आफूसँग आशंकित अमेरिकालाई एमसीसी पारित गर्न नदिएर अमेरिकालाई आफूप्रति थप सतर्क हुन बन्न नदिने चुनौति प्रचण्ड सामु थियो भने संसोधनै गरेर सही, अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि प्रचण्डको समेत विश्वास हासिल गरेर एमसीसी पारित गराउनैपर्ने चुनौती ओलीसामु थियो ।

त्यही कारण ओली–प्रचण्डबीचको छलफलमा संसोधनसहित एमसीसी पारित गर्ने सहमति जुटेको बुझिएको छ । नवलपुर पुगेर प्रचण्ड एमसीसीको पक्षमा खुल्नुको कारण बालुवाटारमा जुटेको त्यही सहमति हो । नवलपुरमा पुगेर एमसीसीको पक्ष लिँदै प्रचण्डले भनेका छन्, ‘संसोधन गरेर भएपनि एमसीसी पारित गरिनेछ ।’ साभार : नयाँ पत्रिकावाट

प्रकाशित मिति ११ माघ २०७६, शनिबार ०५:४३