गण्डकी प्रदेश : पर्यटन बसपार्क तोकिएको मितिभन्दा अगाडि सक्ने दाबी

माघ ११, पर्वत । पर्यटकीय सहर पोखरामा पर्यटन बसपार्क निर्माणले तीव्रता पाएको छ । सम्झौता मितिभन्दा अगाडि बसपार्क निर्माण सक्ने लक्ष्यका साथ काम भइरहेको आशिषरसिएमरमिसन जेभीका निर्देशक शान्तकुमार श्रेष्ठले बताए । उनका अनुसार अहिले ७० प्रतिशत काम सकिएको छ । ‘वैशाखको अन्त्यसम्ममा काम सक्ने र हस्तान्तरण गर्ने लक्ष्य हो,’ उनले भने, ‘निर्माणको मुख्य काम सकिएको छ । अब कम्पाउन्ड वाल, बिल्डिङको ढलान, गेट राख्ने र भुइँको केही ढलानको काम बाँकी छ । गत २८ फागुनमा सम्झौता भएर निर्माण सुरु भएकोमा भदौको दोस्रो साता केही समय काम रोकिएको थियो ।

पोखरा महानगरपालिका–७ राष्ट्र बैंक चोकनजिक निर्माण भइरहेको आधुनिक पर्यटन बसपार्क निर्माणको सम्झौता गत २८ फागुनमा भएको हो । दुई असोज २०७७ भित्र बसपार्क निर्माण सम्पन्न भएर हस्तान्तरण गर्ने सम्झौता छ  । ७ हजार ९ सय वर्गमिटरमा बन्ने बसपार्क ७ करोड ५० लाख रुपैयाँमा सम्पन्न गर्ने सम्झौता हो ।

स्थानीयको माग सम्बोधन गर्न थोरै डिजाइन परिवर्तन गरिएको निर्माण व्यवसायी संघ पोखराका अध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए । ‘थोरै डिजाइन परिवर्तन भएको छ, सडकबाट बसपार्कमा गाडी छिर्ने र स्थानीयलाई १३ फिटको बाटो दिने सहमति भएपछि कामले गति लिएको छ,’ उनले भने ।

यस्तो बन्छ अत्याधुनिक पर्यटन बसपार्क निर्माण कम्पनीको स्थानीय प्रतिनिधि एविज् इन्जिनियरिङ कन्सल्टेन्सीका प्रोजेक्ट डाइरेक्टर इन्जिनियर असिम बरालका अनुसार बसपार्कमा ४० वटा पर्यटक बस आवतजावत गर्न सक्नेछन् । त्यस्तै, १० वटा माइक्रोबस, २० वटा ट्याक्सी पार्किङस्थल तथा केही कार पार्किङस्थल रहनेछ ।

बसपार्कको दक्षिण–पूर्वबाट बस प्रवेश गर्ने र दक्षिण–पश्चिमबाट बाहिरिनेछन् । बसपार्कको बीचमा आकर्षक आइल्यान्ड गार्डेन बन्नेछ । डिभाइडरमा समेत फूल रोपेर आकर्षक बनाइनेछ । बसपार्कमा व्यवस्थित शौचालय, चमेनागृह रहनेछन् । बसपार्कमा १६ वर्गमिटरका झन्डै २० सेन्टिमिटर मोटाइका चार सयभन्दा बढी ब्लग ढलान हुनेछन् । साभार ः नयाँपत्रिकावाट

प्रकाशित मिति ११ माघ २०७६, शनिबार ०५:४९