no-image

माघ ११, पर्वत । सरकारले किसानका लागि अनुदानमा दिएको ट्रयाक्टरसमेत दुरुपयोग भएको पाइएको छ । गुल्मीको धर्कोट गाउँपालिका ७ स्थित मानेचौर बहुउद्देश्य कृषि फर्मले प्रदेश सरकारबाट ५० प्रतिशत अनुदानमा प्राप्त गरेको ट्रयाक्टर ठेक्कापट्टामा प्रयोग गरिएको छ । कृष्ण घिमिरे, हरि भट्टराई, मधु पन्थी र नवीन श्रेष्ठले संयुक्त रूपमा फर्ममार्फत विभिन्न कृषि काम गरिरहेका छन् । यो फर्म सञ्चालन भएको चैतमा दुई वर्ष पुग्छ ।

किसानको मागका आधारमा प्रदेश ५ को भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि प्रयोजनका लागि गत असारमा कृषि फर्महरूलाई ट्रयाक्टर वितरण गरेको थियो । सोही कार्यक्रमअन्तर्गत प्राप्त ट्र्याक्टर कृषि फर्मका सञ्चालकहरूले नै ठेक्कामा प्रयोग गर्दै आएका छन्।

फर्म सञ्चालककै ठेक्का

सुनील–समीर निर्माण सेवाले मालिका गाउँपालिका ७ को सिलादी–घमिर मोटरबाटोको स्तरोन्नति गरिरहेको छ । सो सडकको पर्खालको काम पेटी ठेक्काका रूपमा फर्मका सञ्चालक घिमिरे र भट्टराईले लिएका छन् । पर्खालका लागि खोलाबाट ढुंगा बोक्न ट्रयाक्टर  प्रयोग गरिरहेको फर्मका सञ्चालक तथा निर्माण व्यवसायी भट्टराईले स्विकारे । आफूहरूले पनि ५० प्रतिशत लगानी गरेकाले ठेक्काको काममा ट्रयाक्टर लगाएको उनले बताए ।

‘मेसिनरी सामान रोकेर के गर्ने, त्यसैले प्रयोग गरेका हौँ,’ उनले भने, ‘त्यसबाट किस्ता र ड्राइभर पालेका छौ ।’ कृषि फर्मका अर्का सञ्चालक घिमिरेले प्रदेशले ५० प्रतिशत अनुदान दिएकै भरमा अन्यत्र प्रयोग गर्न नपाइने भए फिर्ता लैजान चुनौती दिए । आफूहरूले साढे दुई सय बढी रोपनी खेतमा ट्रयाक्टरको काम सकेपछि मात्रै ढुंगा बोक्ने काममा प्रयोग गरेको उनले बताए ।

ठेक्का लगाउन दिएका छैनौँ : प्रवक्ता

प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयल प्रवक्ता तथा वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले कृषि प्रयोजनलाई दिएको ट्रयाक्टर ठेक्कापट्टामा प्रयोग गर्न नमिल्ने बताए । उनले फर्महरूले कृषि कर्मकै लागि माग गरेकाले जति प्रतिशत लगानी गरे पनि अन्यत्र प्रयोग गर्न नहुने बताए । ‘मन्त्रालयसँग फर्मले गरेको सम्झौतामा कतै समस्या छैन,’ ट्रयाक्टर कृषि कर्मकै लागि दिएका हौँ’, उनले भने, ‘यसमा सबै सचेत बन्नुपर्छ ।’आजको नयाँ पत्रिकामा खवर रहेको छ ।

प्रकाशित मिति १२ माघ २०७६, आईतवार ०४:००