पर्वत कुश्मामा १ करोडको लगानीमा हेल्थ क्लब, यस्ता छन् क्लब जानुका फाइदा

माघ १२, पर्वत । यहाँका स्थानीय युवाहरुले सदरमुकाम कुश्मा बजारमा झण्डै १ करोडको लगानीमा हेल्थ क्लव खोलेका छन् । शारीरिक अभ्यासका लागि अत्याधुनिक सुविधा सहितको ‘कुश्मा हेल्थ क्लव’ सञ्चालनमा ल्याएका हुन् । क्लवको माघ १५ गते विधिवत रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मानवमा बढ्दै गएको दीर्घरोगको समस्या र युवाहरूमा बढेको कुलतलाई समाधान गर्ने अभिप्रायले कुश्माका स्थानीय युवाहरुले व्यायाम हलसहितको कुश्मा हेल्थ क्लव संचालन गर्न लागेका छन् । झण्डै एक करोडको लागतमा निर्माण भएको उक्त क्लवमा ५० देखी ६० जना महिला पुरुषले एकैसाथ जिम गर्न मिल्ने क्लवका अध्यक्ष डा प्रमोदकुमार मण्डलले जानकारी दिनुभयो । क्लवले आइतवार कुश्मामा पत्रकार सम्मेलन गरेर मानव व्यायामका विविध बिषयमा जानकारी गराएको हो ।

क्लवबाट नियमित सेवा लिनका लागि तीन हजार रूपैयाँ भर्ना शुल्क र दुईहजार मासिक शुल्क तोकिएको भएपनि एक बर्षको प्याकेज लिँदा २१ हजारमा थप तीनमहिना सेवा लिन पाइने व्यवस्था गरिएको क्लवका संचालक सुरेश केसीले जानकारी दिनुभयो । ‘क्लवमा युगल जोडी, विद्यार्थी र नियमित आउनेलाई प्याकेजमा सहुलियत दिने व्यवस्था गरिएको छ ।’( संचालक केसीले भन्नुभयो ।

पछिल्लो समय सरूवा रोग भन्दा दीर्घ रोगीहरूको संख्या बढ्दै गएको अवस्थामा सुगर, प्रेसर, कोल्डस्टोर लगायतका रोगहरुको समाधानका लागि यो हेल्थ क्लव कोशेढुङ्गा सावित हुने कुश्मा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष चित्रकला शर्माले वताउनु भयो । क्लबमा सुरेश केसी, डा प्रमोदकुमार मण्डल र नारायण शर्माको संयुक्त लगानी रहेको वताइएको छ । उक्त जिम क्लवको यही माघ १६ गते ‘मिस्टर वल्ड’ महेश महर्जनको उपस्थितिमा उद्घाटन हुने कार्यक्रम रहेको क्लवले जनाएको छ । उक्त कार्यक्रमको संचालन स्थानीय युवा गोकुल चापागाईले गर्नुभएको थियो ।

हेल्थ क्लब जानुका फाइदा

– नियमित व्यायामले शारीरिक र मानसिक स्वास्थ्य सुदृढ बनाउँछ । कतिपयले घरमै बसेर पनि व्यायाम गर्छन् । तर, क्लबमा गएर व्यायाम गर्दा दक्ष प्रशिक्षकको सहयोग पाइन्छ, जुन लाभदायक हुन्छ ।

– घरमा आफैँ कसरत गर्दा गलत तरिका अवलम्बन गरिएको हुन सक्छ । जसले गर्दा चोटपटक पनि लाग्न सक्छ । जिम गर्दा विभिन्न स्टेप र पोजिसनलाई ध्यान दिनुपर्छ । दक्ष तालिमप्राप्त प्रशिक्षकको इन्स्ट्रक्सनमा व्यायाम गर्दा दुई–तीन हप्तामै सकारात्मक प्रभाव देखिन थाल्छ ।

– घरैमा कसरत गर्दा बढी अल्छी बन्ने सम्भावना पनि हुन्छ । जाँगर चल्दा मात्र कसरत गर्ने बानी पर्न सक्छ । त्यसैले क्लबमा नै गएर कसरत गर्दा राम्रो हुन्छ । किनभने त्यहाँ भेटिने साथीहरूले पनि व्यायाममा ऊर्जा दिन्छन् । समूहमा जोस र जाँगरका साथ कसरत गर्नुका साथै थकाइ पनि कम लाग्छ

प्रकाशित मिति १२ माघ २०७६, आईतवार १३:१४