फलेवासका कृषकलाई मिनिटिलर हलो वितरण

माघ १२, फलेवास । पर्वतको फलेवास नगरपालिकाका कृषकहरुलाई मिनिटिलर हलो वितरण गरिएको छ । धान व्लक क्षेत्रमा समेटिएको मुडिकुवा, देबिस्थान र कुर्घाका किसानहरुलाई मिनिटिलर हलो वितरण गरिएको हो । व्लक सञ्चालक समितिको आजको भेलामा ३१ वटा हलो वितरण गरिएको छ । कृषकलाई धान काट्ने व्रस कटिङ मेशिन ४ वटा र हिले फाली १७ वटा पनि वितरण गरिएको छ ।

फलेवास नगरपालिकाका प्रवक्ता एवं मुडिकुवाका वडाध्यक्ष टिकाराम गौँडेल र फलेवास ६ देबिस्थानका वडाध्यक्ष भोलानाथ शर्माले किसानलाई यान्त्रिक सामाग्री हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै फलेवासका प्रवक्ता एवं वडाध्यक्ष टिकाराम गौँडेलले सामाग्रीहरुको सदुपयोग गरि उत्पादन बढाउन कृषकहरुलाई आग्रह गर्नुभयो । फलेवास नगरपालिकाले ११ वटै वडामा जग्गा बाँझो नराख्ने सोच राखेको बताउँदै गौँडेलले आफ्नो खेतवारी गोरु, हलि, खेताला र सिँचाईको अभावले अव बाँझो नरहने विश्वास व्यक्त गर्नुभयो ।

 देबीस्थानका वडाध्यक्ष भोलानाथ भुसालले व्यवसायिक रुपमा खेतीपाती गर्न चाहने कृषकलाई नगरपालिकाको आवश्यक सहयोग गर्ने बताउनुभयो । पछिल्लो समय सबै ठाउँमा सडकको पहुँच पुगेको भन्दै कृषि उपजको बजारीकरण र ढुवानीमा समस्या नहरेको भुसालले बताउनुभयो । धान व्लक सञ्चालक समितिका अध्यक्ष वलराम भुसालले फलेवासको ५ सय हेक्टर जमिन व्लकमा समेटिएको र यस क्षेत्रमा लोप हुँदै गएका रैथाने धानको संरक्षण गर्दै व्यवसायिक उत्पादन शुरु हुने बताउनुभयो । उहाँले लमाएखोला बाट लिफ्ट मार्फत पानी तान्ने योजना रहेको र त्यसका लागि डिपिआर तयार पारि बजेट माग भएको जानकारी दिनुभयो ।

सचिव थानेश्वर भुसालले मुडिकुवाको गौँडामा १५ हेक्टर, कुर्घाफाँटमा २५ हेक्टर र देविस्थानको हाँडिचौरमा २० हेक्टर क्षेत्रमा विशेष रुपमा धानको खेती गर्न स्थान छनौट भएको र अरु क्षेत्रमा व्यवसायिक रुपमा धान खेती हुने बताउनुभयो । व्लक कार्यक्रममा चालु वर्ष कृषि ज्ञान केन्द्रले ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । सोहि बजेटले यान्त्रिकरणमा किसानहरुलाई मागका आधारमा मिनिटिलर वितरण गरिएको व्लक सञ्चालक समितिले जानकारी दिएको छ ।

प्रकाशित मिति १२ माघ २०७६, आईतवार १४:३९