सजग रहनुहोला ! अनलाइन सपिङका नाममा ठगी, आठ जना पक्राउ

माघ १४, पर्वत । ‘अनलाइन सपिङ’का नाममा ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। मोरङ प्रहरीले गिरोहमा संलग्न आठ जनालाई ६७ लाख बढी रकमसहित पक्राउ गरेपछि यो रहस्य सार्वजनिक भएको हो।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैँचा नगरपालिका(३ का विशाल अर्याल भनिने ३६ वर्षीय निरञ्जनप्रसाद आचार्य, खोटाङ जन्तेढुंगा गाउँपालिका(४ का २२ वर्षीय शिवजी खड्का, २० वर्षीय देवी चौलागाई, धरान उपमहानगरपालिका( २० विष्णुपादुकाकी २० वर्षीया भावना राई, १९ वर्षीया सरिता परियार, २० वर्षीया वर्षा कार्की, २३ वर्षीया सानु गौतम र २१ वर्षीया लक्ष्मी कार्की छन् । अन्नपूर्ण पोष्टमा खवर छ ।

आचार्य ठगी धन्दाका मुख्य नाइके भएको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए। आचार्यले यही धन्दामा अन्य सात जनालाई परिचालन गरेको खुलेको छ। ती मध्ये पनि खड्का र चौलागाई आचार्यको विश्वासपात्र रहेको अधिकारीको भनाइ छ। उनीहरु विराटनगर महानगरपलिका( ३ की यज्ञकुमारी खड्काको घरमा कोठा भाडामा लिएर बस्ने गरेको प्रहरीले जनाएको छ।

अन्य युवतीले भने आचार्यलाई बैंक खाता खोल्नका लागि नागरिकता दिएर ठगी धन्दामा सहयोग पुर्‍याएको खुलेको छ। आचार्यको ठगी गर्ने सञ्जाल भारतमा पनि रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रकाशित मिति १४ माघ २०७६, मंगलवार १६:१४