नेकपाको महाधिवेशन २०७७ चैत २५ देखि ३० सम्म गर्ने प्रस्ताव

माघ १५, पर्वत । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २०७७ चैतमा महाधिवशेन गर्ने प्रस्ताव केन्द्रीय समितिमा राख्नुभएको छ । आजदेखि काठमाडौंको राष्ट्रियसभागृहमा सुरु भएको केन्द्रीय समिति बैठकमा दुवै अध्यक्षको तर्फबाट दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा २०७७ चैत्र २५ देखि ३० सम्म राष्ट्रिय महाधिवेशनको मिति तय गरिएको हो । राष्ट्रिय महाधिवेशन अघि २०७७ भदौ देखि मंसिरसम्म सबै स्थानीय र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा उल्लेख छ । मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी समिति बैठकले राष्ट्रिय महाधिवेशनको मिति तय गर्न अध्यक्षद्वयलाई जिम्मेवारी दिएको थियो ।

स्थायी समितिमा अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदनमा २०७७ चैतभित्र उल्लेख थियो । आगामी फागुन एक गतेदेखि १५ सम्ममा प्रदेश, जिल्ला र स्थानीय समितिले बैठक बसेर अभियानको कार्ययोजना बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ । फागुन मसान्तसम्म पार्टी तथा जनवर्गीय संगठन केन्द्र, जिल्ला र स्थानीय तहमा कार्यकर्ता भेला आयोजना गरी अभियानसम्बन्धी अन्य कार्यक्रम सञ्चालन गर्ने, चैत र वैशाखमा केन्द्रीय संगठन विभागको योजना र निर्देशन अनुरुप सदस्यता नवीकरण सम्पन्न गर्नुपर्ने, जेठ मसान्तसम्म घरदैलो, पदयात्रा र टोलभेला तथा सभाको आयोजना गर्नुपर्ने र असार महिनामा स्थानीय तहमा जनसभा गर्नुपर्ने अध्यक्षद्वयको प्रतिवेदनमा छ ।

प्रतिवेदन अनुसार आगामी साउन दोस्रो हप्ता जिल्ला नेकपाका समितिले आ–आफ्नो जिल्लाको अभियान समिक्षा गर्ने र प्रतिवेदन तयार गरी प्रदेश समितिमा पठाउनुपर्ने कार्यतालिका तय गरिएको छ ।

प्रकाशित मिति १५ माघ २०७६, बुधबार १७:००