सम्झौता अघि निर्माण सुरु भएका घरलाई पनि अनुदान

माघ १५, पर्वत । पर्वतमा प्राविधिक आउनुभन्दा पहिला बनेका भूकम्प पीडितका घर समेतलाई मुल्याकंनका आधारमा अनुदान वितरण गर्न थालिएको छ । प्राविधिक आउनुभन्दा अगाडी आफुखुशी बनाएका घरहरुको सर्बेक्षण गरेर स्थानीय तहको सिफारिस र प्राधिकरणका प्राविधिकको मुल्यांकन पश्चात अनुदान वितरण शुरु गरिएको हो ।

प्राविधिक आउनुअघि आफुखुशी घर निर्माण गरेका पाँच सय १६ जना सूचिकृत भएका छन् । ति मध्ये कुश्मा नगरपालिकाका ३३ जनाले सबै किस्ता रकम बुझेपनि अन्य ६ स्थानीय तहका पीडितले पहिलो किस्ता लगेपनि दोस्रो र तेस्रो किस्ता लगेका छैनन् । अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार विकास कार्यालयले धमाधम पीडितलाई रकम निकाशा गरिरहेको छ । यसैबिच आजको मिति सम्म पर्वतमा भूकम्पले भत्किएका तीन हजार २ सय ३७ जनाको घर बन्न बाँकि रहेको पाईएको छ । २०७२ सालको भूकम्पले पाँच हजार २ सय ६९ जना घर भत्किएको भन्दै पुननिर्माण प्राधिकरणको क्षती विवरणमा सूचिकृत छन् ।

भूकम्प गएको साढे चार वर्ष बितिसक्दा अझै अधिकाँश खुल्ला आकाशमुनी नै रहेको भूकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ पर्वतको तथ्यांकले देखाएको हो । जिल्लामा भूकम्पले घर भत्किएका दुई हजार ३२ जनाको घर निर्माण सम्पन्न भैसकेको छ । पहिलो किस्ता लिने चार हजार ९ सय ४६ जना रहेका छन् । दोस्रो किस्ता लिने ३ हजार ८४ जना रहेका छन् । पहिलो र दोस्रो किस्ता लिने उल्लेख्य भएपनि घर निर्माण गर्ने निकै न्यून छन् । पहिलो र दोस्रो किस्ता लगेपनि घर नै नबनाई बसे पनि किस्ता फिर्ता गर्ने जम्मा ९ जना छन् ।

पूननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनूदान व्यवस्थापन तथा पूर्वाधार निर्माण कार्यालयका प्रमुख कृष्णराज गौतमले जिल्लामा प्रारम्भिक छानविनमै त्रुटि भएकोमा नक्कली भूकम्प पीडित समेत रहेको सुनाए । अनुदान पाउने लोभले लाभग्राही सूचिमा सूचिकृत भएका र घर नबनाएकाहरुको छानविन गरि किस्ता फिर्ता लिने कार्यालयको तयारी रहेको गौतमले बताए । कार्यालयका नायव सुव्वा बालकृष्ण शर्माका अनुसार भूकम्पबाट भत्किएका घर निर्माण गर्नेमा सबैभन्दा बढि कुश्मा नगरपालिकाका रहेका छन् ।

कुश्मामा ५०६, फलेवासमा ४५८, विहादीमा ३७९ , पैयूँमा २२६, मोदीमा २३६, महाशिलामा १५२ र जलजलामा ७५ जनाले घर निर्माण सकेका छन् । लाभग्राही सबैभन्दा बढि फलेवासमा एक हजार ४ सय ५४ छन् । बिहादीका एक हजार ३७, कुश्मामा ९४४, पैयुँमा ६५८, मोदीमा ५०३, महाशिलामा ३८६, जलजलामा १८७ जना लाभग्राही छन् । पर्वतमा प्रवलिकरण गर्नुपर्ने चार सय १७ जना रहेकोमा एक सय ५२ जनाले पहिलो किस्ता लगेपनि घर प्रवलिकरण नगरेकाले दोस्रो र तेस्रो किस्ता लगेका छैनन ।

प्रकाशित मिति १५ माघ २०७६, बुधबार १७:२२