‘डरलाग्दाे ढङ्गले सरकारविरुद्धकाे प्रचार आक्रमण अघि बढाइयाे’

माघ १५, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डरलाग्दो ढङ्गले सरकारविरुद्धको प्रचार आक्रमण अघि बढेको गुनासो गर्नुभएको छ । बुधबार काठमाण्डौमा नेकपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । उहाँले सरकारविरुद्ध प्रचार युद्ध मात्रै नभइ डरलाग्दो गरी आक्रमण नै छेडिएको गुनासो गर्नुभयो ।

उहाँले सरकारविरुद्धको आक्रमणको वादविवाद नगरि काम गरेर जवाफ दिने पनि बताउनु भयो । उहाँले भन्नुभयो, हाम्रा विरुद्ध प्रचार युद्ध, प्रचार युद्ध मात्रै नभनुँ प्रचार आक्रमण डरलाग्दो गरि छेडिएको छ । तर हामी वादविवादबाट होइन । हामी हाम्रा उपलब्धिबाट, नतिजाबाट जवाफ दिँदै आएका छौँ । लामो सम्बोधनको अधिकांश समय सरकारका कामको प्रतिरक्षामा खर्चिनु भएका प्रधानमन्त्री ओलीले वैचारिक आग्रह पूर्वाग्रहबाट सरकारको लोकतन्त्रप्रतिको निष्ठामाथि प्रश्न उठाउने गरिएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ुलोकतन्त्रप्रति हाम्रो निष्ठाको सवालमा प्रश्न उठाउने गरिएको छ । हाम्रो पार्टीको नामको कारणले कतिमा वैचारिक पूर्वाग्रह पनि हुन सक्छ । त्यो पनि होला । तर हामी पूर्वाग्रहभन्दा माथि उठेर २१औँ शताब्दीमा मानवजातीले प्राप्त गरेको उपलब्धि, मूल्यमान्यताको धरातलमा आफूलाई प्रस्तुत गर्न चाहन्छौ । उहाँले लोकतन्त्रलाई पूर्ण ुडेमोक्रेसीु को रुपमा अगाडि बढाउँदै न्याय र हक अधिकारसम्मको पहुँच सबैका लागि सुरक्षित गर्दै शान्तिपूर्ण, आधुनिक र सम्मानयुक्त समाज निर्माणमा सरकार अघि बढेको स्पष्ट पार्नुभयो ।

उहाँले लोकतन्त्र र प्रेस स्वतन्त्रतालगायत विषयमा सरकारविरुद्ध आवाज उठाउनुको कुनै अर्थ नरहेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ुहाम्रा बारेमा प्रेस स्वतन्त्रता वा स्वतन्त्रताका हकका बारेमा प्रश्न उठ्नु वास्तवमा निर्रथक कुरा हो । नेपाली काङ्ग्रेस, नेकपा तथा विभिन्न समूहले विभिन्न विषय र सन्दर्भमा समय समयमा हतियार उठाएको भए पनि नेपालको राजनीति अन्ततोगत्वा शान्तिपूर्ण बाटोमा आएको र आधारभूत सहमतिका साथ अगाडि बढ्ने बाटोमा अघि बढेको उहाँले दाबी गर्नुभयो ।

प्रकाशित मिति १५ माघ २०७६, बुधबार १७:३१