no-image

माघ १५, पर्वत । सरकारले तोकेको समय सीमामा उद्योगीले भुक्तानी नदिएको भन्दै जिल्लाका उखु किसान पुनः आन्दोलित भएका छन् । माघ १४ देखि २० गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गर्दै उनीहरूले माग पूरा नभए पुनः काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

घोषित कार्यक्रमअनुसार राजनीतिक दलसँग छलफल, किसान जागरण अभियान, बृहत् किसान भेला, पत्रकारसँग अन्तरक्रिया र बर्दघाटको टीसीएन चोकमा प्रदर्शनसहित राजमार्ग अवरुद्ध गरिने उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश यादवले बताए। ‘माघ १९ गतेसम्म पनि समस्या समाधान नभए पुनः काठमाडौं केन्द्रित आन्दोलन सुरु हुनेछ,’ उनले भने।

माघ ७ गतेभित्र किसानको बक्यौता रकम तिर्न उद्योगीले सरकारसँग सहमति जनाएका थिए। तर, उक्त समय सीमा बितेको साता हुँदा पनि किसानले रकम पाएका छैनन्। सरकारले पनि उद्योगीलाई कारबाही गर्न सकेको छैन।

उखु उत्पादक कृषक समिति नवलपरासीका अनुसार जिल्लाका दुई उद्योगले किसानको २५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। इन्दिरा सुगर मिलले १४ करोड र लुम्बिनी चिनी मिलले ११ करोड रकम तिर्न बाँकी छ ।साभार –कान्तिपुर दैनिकवाट

प्रकाशित मिति १५ माघ २०७६, बुधबार १७:४४