क्रिस गेल क्रिकेट खेल्न पोखरा आउँदै

माघ १५, काठमाडौँ । वेस्ट इन्डिजका प्रभावशाली ब्याट्सम्यान क्रिस गेलले एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी(ट्वान्टी खेल्ने भएका छन् ।

पोखरा राइनोजले बिहीबार पत्रकार सम्मेलन गर्दै गेललाई आफूले अनुबन्ध गरेको जानकारी दिएको हो । जसअनुसार उनी आगामी ईपीएलमा पोखरा राइनोजबाट खेल्नेछन् । आइकनिक खेलाडीको रुपमा खेलाउन लागेको बताइएको छ ।

गेलले आफ्नो ट्वीटरबाट पनि भिडियो सन्देश सार्वजनिक गरेका छन् । उनले भिडिओमा आफू २०२० मा नेपाल भ्रमण गर्ने र यहाँको सबैभन्दा ठूलो क्रिकेट प्रतिस्पर्धा ईपिएलमा खेल्ने जानकारी दिएका छन् ।

साथै उनले आफू पोखरा राइनोजबाट खेल्न लागेको र त्यस टीमलाई सहयोग गर्न पनि आग्रह गरेका छन् । एक मिनेट ४० सेकेन्डको भिडियोमा उनले उत्साही हुँदै ‘सी यू सुन नेपाल’ समेत भनेका छन् ।

क्रिस ईपीएलका लागि आगामी मार्च १२ मा नेपाल आइपुग्ने आयोजकले बताएको छ । तर खेल तालिका साथै गेलले कति खेल खेल्ने भन्ने बारे कुनै जानकारी गराइएको छैन ।

प्रकाशित मिति १६ माघ २०७६, बिहीबार ११:४७