खुशीको खवर : पर्वतमा बञ्जि जम्पको सफल परिक्षण (भिडियो सहित)

माघ १५, पर्वत । पर्वतको कालीगण्डकी नदीमाथी निर्मित विश्वकै लामो र अग्लो दाबी गरिएको कुश्मा–बलेवा बञ्जिजम्पको सफल परिक्षण गरिएको छ । बन्जीको निर्माण कम्पनी द क्लिफ प्रालिका अध्यक्ष एवं मुख्य लगानीकर्ता राजु कार्कीले विहान १० बजेर पाँच मिनेट जाँदा कालीगण्डकीमाथीको साढे दुई सय मिटर माथिबाट डोरीमा हाम फालेर परिक्षण गर्नुृभएको हो । परिक्षण सफल भएपछि आगामी नयाँ वर्ष २०७७ बैशाखबाट व्यवसायिक रुपमा सञ्चालन गर्ने तयारी छ । कालीगण्डकीको खोंचमाथि पाँच सय २५ मिटर लामो स्टीलको पुल बनाएर हाम फाल्ने गरि बञ्जि निर्माण गरिएको छ । नौलो प्रविधिको लठ्ठामा झुण्ड्याइएको पुलबाट साढे दुइ सय मिटर तल बगेको कालीगण्डकीको बिचमा बन्जी गर्न मिल्नेगरि सबै संरचना तयार भएपछि अध्यक्ष कार्की आफैले हाम फालेर सफल परिक्षण गरेको जानकारी दिनुभयो ।

यसअघि डोरीमा एक २० तथा एक सय ५० किलोका ड्रम खसालेर परिक्षण गरिएको थियो । कार्कीका अनुसार बञ्जिजम्प बनाउन करिव २० करोड रुपैयाँ लगानी भएको छ । सिन्धुपाल्चोकका राजु सहित पर्वतका ११ जना यूवाले यसमा लगानी गरेका हुन् । कालीगण्डकीको खोंचमा कुश्मा र बागलुङको बलेवालाई जोडेर दुइ सय २८ मिटर उचाईबाट बन्जी गर्न संरचना बनाइएको छ । द क्लिफ प्रालि मार्फत गरिएको लगानीमा कम्पनीकै नामबाट बन्जी, रिसोर्ट, स्काई साइक्लिङ र स्वीङ सञ्चालन हुन लागेको छ । बञ्जिसंगै बलेवामा दुइ सय जना क्षमताको रिसोर्ट समेत बनिसकेको छ । बन्जीले नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने लगानीकर्ताहरुको दाबी छ । बन्जीमा प्रभु बैंकको बित्तिय सहयोग छ ।

बन्जीमा आउने पर्यटकहरुलाई तीन दिन सम्म टे«किङ प्याकेज बनाइने लगानीकर्ता युवराज जोशीले बताउनुभयो । गण्डकी प्रदेशको राजधानी पोखरा बाट ५७ किलोमिटर उत्तरमा पर्ने कुश्मा मुक्तिनाथको प्रवेशद्धार पनि हो । त्यसले पनि यहाँको वञ्जी बिदेशीको रोजाइैमा पर्ने अनुमान छ । उत्तर–दक्षिण छिमेकि मुलुक जोड्न निर्माणाधिन कालीगण्डकी करिडोर र मध्य पहाडी राजमार्ग पुर्ण रुपमा सञ्चालनमा आएपछि भारतिय र चिनिया पर्यटक बढी आउने पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो ।

प्रकाशित मिति १६ माघ २०७६, बिहीबार १२:५३