हात्तिपाईलेको औषधी खुवाउने अभियान : खानीगाउँ र पाङमा बढि संक्रमण

माघ १५, पर्वत । पर्वतमा ११ औँ चरणको हात्तिपाईले बिरुद्धको औषधी ख्वाउने अभियान सञ्चालन गरिने भएको छ । पर्वत जिल्लाका सात वटै स्थानिय तहमा यहि माघ २५ गते शनिवार हात्तिपाईले रोगको औषधी ख्वाउने तयारी भएको जनस्वास्थ्य कार्यालय पर्वतले जानकारी दिएको छ । पर्वतमा सन् २०१० बाट हात्तिपाईले बिरुद्धको औषधी ख्वाउने अभियान शुरु गरेपनि अझै १.४७ प्रतिशतमा रोग निको नभएको पाईएकाले यो वर्ष पनि औषधी ख्वाउने अभियान चलाउन लागिएको जनस्वास्थ्य कार्यालयका प्रमुख डा. भोजराज गौतमले जानकारी दिनुभयो । नेपालले सन् २०२० मा हात्तिपाईले रोगलाई उन्मूलन गर्ने गरि विश्व स्वास्थ्य संगठनमा जनाएको प्रतिवद्धता अनूरुप यो अभियान हरेक वर्ष संचालन गरिदै आएको छ ।

नेपालमा सन् २००३ देखी यो अभियान संचालन भएको हो । गर्भवती, ७ दिनको सुत्केरी, २ वर्षमुनीका बालबालिका, दिर्घरोगी लगायतका व्यक्तिहरुलाई औषधी खुवाउन नमिल्ने गौतमले जानकारी दिनुभयो । जनस्वास्थ्य कार्यालयले आज अभियानको बारेमा पत्रकार संग अन्तरक्रिया गरेको छ । कार्यक्रममा जनस्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत प्रविण भण्डारीले खानीगाउँ र पाङमा गरिएको सर्बेमा अझै संक्रमण देखिएको हुनाले जिल्लाभर नै ११ औँ चरणको औषधी ख्वाउने अभियान चलाउनुपरेको बताउनुभयो ।

पर्वतका ५६ हजार ४ सय ३२ र पुरुष ४९ हजार ८४ गरि कुल एक लाख ५ हजार ५ सय १६ जनालाई यो वर्ष औषधी ख्वाउने तयारी रहेको भण्डारीले जानकारी दिनुभयो । अभियानमा सवै सरोकारवाला नागरिक समाज,संचारकर्मी,सुरक्षाकर्मी कर्मचारी विद्यार्थी सवैलाई सहयोग गर्न भण्डारीले अनुरोध गर्नुभयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले अभियानमा सञ्चारमाध्यमले सकरात्मक प्रचारप्रसार गरि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति १६ माघ २०७६, बिहीबार १३:०१