अमिनः फ्रान्सको फरक प्रेमकथा

फ्रान्सेली फिल्मलाई आरोप छ कि, यो सिर्फ यौन, धूमपान र वाइनले भरिभराउ हुन्छ । यसले फ्रान्सभित्रका अफ्रिकी, अरब र एसियन अल्पसंख्यकहरुको संघर्षको कथा भन्दैन । तर निर्देशक फिलिप फाकनले यी अल्पसंख्यकहरुमाथि नजर लगाइरहेका छन् । उनको सन् २०१६ को ‘फातिमा’ नामक फिल्मले अल्जेरियाली कामदार महिला र उसका छोरीहरुको कथामाथि थियो । उनी फेरि अर्को त्यस्तै संवेदनात्मक फिल्म ‘अमिन’ लिएर आएका छन् ।

फ्रान्सेली फिल्म उद्योगमा राजनीतिक रुपमा सचेत निर्देशक मानिने फाकनको यो ‘अमिन’ फिल्मले फेस्टिभलहरु र संसारका आर्ट हाउस फिल्म बजारमा राम्रै स्थान पाउने निश्चित छ । अघिल्लो फिल्म ‘फातिमा’, जसले फ्रान्सको उत्कृष्ट फिल्म अवार्ड सेजार जितेको थियो, भन्दा यो ‘अमिन’ले अझ बढी सुमधुर प्रतिक्रिया पाउने निश्चित छ ।

फिल्म एक तथाकथित प्रोटागोनिस्ट अर्थात् सेनेगलबाट आएका आप्रवासी अमिन (मोस्तफा बेंगु) वरिपरि घुम्छ । उसले पेरिसको अर्धनगरीय क्षेत्रमा कन्स्ट्रक्सनका कामहरु गरिरहेको हुन्छ । उसकी पत्नी एइसा, तीनजना बालबच्चा र मोरक्कोबाट आएका उसको साथी, साथीका छोरीहरु लगायतको प्रसंगले भरिएको छ कथा ।

फिल्ममा अर्की मुख्य पात्र छे गाब्रिएले (इमानुयले डेभोस), अधवैंशे गोरो वर्णकी सुन्दर नर्स । गाब्रिएलेको घर मर्मतसम्भार गर्न अमिनलाई खटाइएको हुन्छ । गाब्रिएलेको एक ११–१२ वर्षकी छोरी हुन्छे । ज्याद्रो स्वभावका पूर्वपतिको तर्फबाट उनले उक्त छोरी जन्माएकी हुन्छे ।

अमिन र गाब्रिएलेको अफेयरले फिल्ममा नयाँ रङ पैदा गर्दै जान्छ । दुईबीचको प्रेमलाई नश्लवादको घेरादेखि बाहिर राखिएको छ । निर्देशकको तनावरहित प्रस्तुतिले फिल्म तारिफयोग्य बनेको छ ।
फ्रान्सकी लोकप्रिय अभिनेत्री इमानुयलेले गाब्रिएले पात्रमाथि न्याय दिएकी छिन् । निर्देशकले पनि उनको चरित्रलाई स्वच्छन्द छाडिदिएका छन् । कुनै अवरोध देखिँदैन उनको अभिनयमा ।

फिल्मले दर्शकलाई फ्रान्स र सेनेगल दुवैतिर डोर्याउँछ । अमिनको दुईखाले चरित्र छ । फ्रान्समा ऊ अलि गम्भीर र जटिल छ भने सेनेगलमा मनमौजी खालको । मुख्य अभिनेता बेंगुले यी दुवैखाले चरित्रमा आफूलाई अब्बल ठहर्याएका छन् ।

निर्देशक फाकन आफूले उठाएका विषयप्रति समर्पित देखिन्छन् । तर, उनले फिल्मलाई सस्तो इमोसनबाट जोगाउन बलिदान पनि दिन्छन् । ‘अमिन’मा उनको यस्तो बलिदानीले निरन्तरता पाएको छ ।

(हलिउड रिपोर्टर डटकमबाट)

प्रकाशित मिति १७ जेष्ठ २०७५, बिहीबार १५:०१