नेकपा बैठकमा किन अनुपस्थित भए प्रधानमन्त्री ओली ?

माघ १७, काठमाडौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटिको आजको बैठक सभागृहमा सुरू भएको छ ।

बैठकमा प्रधानमन्त्री तथा पर्टी अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित रहेका छन् । 

१५ माघमा बैठक उद्घाटनको दिन दुई घण्टा सम्वोधन गरेका अध्यक्ष ओली आजको बैठकमा ‘विशेष परिस्थिति’ का कारण उपस्थित हुन नसकेको बालुवाटार स्रोतले बताएको छ ।

१५ माघमा गठन गरिएका १५ जना समूह नेताको सहभागितामा बिहीबार ८ वटा समूह सभागृह, ४ वटा समूह पार्टी मुख्यालय धुम्बराही र ३ वटा समूह पार्टीको जनवर्गीय सङ्गठन कार्यालय पेरिसडाँडामा छलफलमा जुटेको थियो ।

शुक्रबार (आज) को बैठकमा बिहीबारको बैठकले विभिन्न ३ स्थानमा गरेको छलफलमा उठेका विषय टोली नेताहरुले रिपोर्ट प्रस्तुत गर्दैछन् । 

केन्द्रीय सदस्यहरुले उठाएका प्रश्न र गुनासाका जवाफ पार्टी अध्यक्षद्वयले दिने पूर्व तयारी रहे पनि अध्यक्ष ओली बैठकमा उपस्थित हुन नसकेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदस्यहरूको रिपोर्टिङ सुने र गुनासाबारे जवाफ दिने छन् ।

आजको बैठकमा पार्टी सचिवालय सदस्यहरू प्रचण्ड, झलनाथ खनाल, माधव कुमार नेपाल, बामदेव गौतम, रामबहादुर थापा ‘बादल’, इश्वर पोखरेल, विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ उपस्थित भएका छन् ।

‘समूहबाट टोली नेताले आजको बैठकमा रिपोर्ट प्रस्तुत गर्ने कार्यक्रम छ,’ केन्द्रीय सदस्य धर्मशीला चापागाईंले भनिन् ।

केन्द्रीय कमिटि बैठकमा अमेरिकी सहयोग एमसीसी एजेन्डा नरहे पनि अधिकांश सदस्यले यसबारेमा विवादित प्रश्न उठाएपछि विज्ञहलाई समेटेर अध्ययन कार्यदल गठन गरेर निकास निकाल्न सुझाव दिएका छन् ।

यसबारे आजको बैठकले समाधान निकाल्ने सदस्यहले बताएका छन् ।
१९ माघसम्म चल्ने बैठकले पार्टीको महाधिवेशनको मिति तोक्नेछ भने पोलिटव्यूरो कमिटि गठनका लागि पनि समूहगत छलफलबाट सुझाव दिएको छ ।

प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार ०८:५२