प्रदेश–२ मा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई ३ लाख

माघ १७, काठमाडौँ । प्रदेश २ सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तरगत बालिकाहरुको बिमा रकम एक लाखबाट बढाएर तीन लाख पुर्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले छोरीलाई स्कुल पठाउन प्रोत्साहनका बालिका लक्षित यो कार्यक्रमको रकम ३ लाख पुर्याउने निर्णय गरेको हो ।

निर्णयबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले बेटी पढाऊ, बेटी बचाऊ अभियानअन्तरगत अघिल्लो वर्षको माघ महिनापछि जन्मिएका बालिकाहरुको एक लाख रुपैयाँको बिमा गरिँदै आएकामा अब उक्त रकम बढाएर तीन लाख पुर्याइएको जानकारी दिनुभयो ।

लैंगिक समानता र भ्रुणाहत्या रोक्ने उद्देश्यले सुरु गरिएको अभियान गत वर्ष अपेक्षाअनुसार सफल हुन नसकेपछि यस वर्षदेखि स्थानीय तहबाटै सन्चालन गरिने मुख्यमन्त्री राउत जानकारी दिनुभयो ।

यसका साथै मधेस आन्दोलनमा ज्यान गुमाएका र घाइते भएका परिवारका सदस्यलाई रोजगारी तथा गुजाराका लािग सहयोग दिने, मधेस सहिद प्रतिष्ठान गठन गर्ने र प्रादेशिक अस्पताललाई आयुर्विज्ञान स्वास्थ्य प्रतिष्ठानको रुपमा परिणत गर्ने निर्णयसमेत गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार १८:०९