किसान र सीडीओका अगाडि चिनी उद्योगीको रुवाबासी

माघ १७, काठमाडौ । उद्योगी राकेश अग्रवालले पश्चिम नवलपरासीका उखु किसानको भुक्तानी गर्ने प्रतिबद्धता जनाएका छन्।  अग्रवाल जिल्लामा आएको जानकारी आएपछि प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मारासिनीले सम्पर्कमा ल्याएर भुक्तानी बारे किसान प्रतिनिधिसँग शुक्रबार छलफल गराएका थिए।  
 
राजनीनिक दल र सञ्चारकर्मीसहितको छलफल कार्यक्रममा अग्रवालले आफूलाई उद्योग सञ्चालनको वातावरण नहुँदा रकम भुक्तानी गर्न नसकेको दाबी गरे।  किसान प्रतिनिधिहरुले किसानको रकम भुक्तानी गर्न नसके ठगी मुद्दा दर्ता गछौं भनी चेतावनी दिए। 

छलफलका क्रममा अग्रवालले आँसु झारे–‘मेरो उद्योगमा ५ महिनादेखि किसानले ताला लगाएका छन्। गोदाममा भएको मोलासिस र चिनी बिक्री गर्न पाएको छैन। टर्चर मात्र दिएर कसरी रकम दिउँ ? टर्चर सहनुभन्दा सीडीओ साहेब मलाई थुन्नुस।’ अग्रवाल मुख छोपेर भक्कानिए।

घाटामा उद्योग चलाइरहेको घर बेचेर भएपनि किसानको रकम तिर्ने प्रतिबद्धता अग्रवालले गरे। रकम जोहो गर्ने समय दिन नसके मलाई थुन्नुस।’ उनले फेरि रुँदै भने। पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा सुगर एण्ड एग्रो इण्डष्ट्रिले १० करोड रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी छ। अग्रवालकै सर्लाहीस्थित अन्नपूर्ण सुगर एण्ड जनरल इण्डष्ट्रिले २० करोड भुक्तानी गर्न बाँकी छ।

प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार १८:३७