पर्वतको जलजलामा ‘एक घर एक धारा’

माघ १८, पर्वत । जिल्लाको जलजला गाउँपालिकामा पर्वत बेनी खानेपानी आयोजनाले घरघरमा मीटर धारा जडान गर्न शुरू गरेको छ । ‘एक घर एक धारा’ जडान कार्यक्रमअन्तर्गत जलजला गाउँपालिका–२, ३ र ४ का ९७४ घरधुरीमा धारा जडान शुरू भएको हो । 

यही माघ मसान्तभित्र धारामा खानेपानी उपलब्ध गराउने गरी घरघरमा मीटरसहितको धारा जडान गर्न शुरू भएको पर्वत बेनी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष लोकनाथ रेग्मीले जानकारी दिए । ‘उपभोक्ता समिति रातदिन नभनी धारा जडानमा जुटेको छ,’ उनले भने, ‘अबको २ साताभित्र हरेक धारामा पानी वितरण गर्छौं ।’ आयोजनाको सम्पूर्ण परीक्षण सफल भएपछि यसै सातादेखि उपभोक्ताको घरमा धारा जडान शुरू भएको उनले बताए । खानेपानी आयोजना कुल रू. १२ करोड ४४ लाख लागतमा निर्माण भएको उनले जानकारी दिए । आयोजनामा नगर विकास कोषबाट रू. २ करोड ६२ लाख सहयोग प्राप्त भएको छ ।    

कालीगण्डकी नदीकिनारमा रहेको जुगेधारा मूलबाट समसिवल वयल पम्प जडान गरेर १५० मीटर उचाइमा रहेको ट्याङकीमा विद्युतीय उपकरणबाट पानी तानेर भण्डारण गरिने छ । पर्वत बेनी आयोजना साविकको धवलागिरि अञ्चलकै ठूलो आयोजना रहेको जलजलाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए । डेढ वर्ष अघिबाट निर्माण शुरू गरिएको आयोजनाको काम तोकिएकै समयमा सम्पन्न भएको उनले जानकारी दिए । 

स्थानीय तह कार्यान्वयन भएपछि गाउँपालिकामा धमाधम बजार विस्तार भइरहेको छ । स्रोत अभावमा गाउँपालिकाका ९ ओटै वडामा खानेपानीको समस्या रहेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताए ।

प्रकाशित मिति १८ माघ २०७६, शनिबार ०९:५१