नेकपाको केन्द्रीय बैठकमा आज नेतृत्वले जवाफ दिने

माघ १९, काठमाडौँ । सत्तारुढ नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा समूहगत रूपमा सदस्यहरूले उठाएका प्रश्नको आइतबार नेतृत्वले जवाफ दिने भएको छ । सबै १५ समूहमा भएको छलफलपछि समूह नेताले रिपोर्टिङ गरेका थिए । शुक्रबार चार र शनिबार ११ समूहको रिपोर्टिङ भएको हो । प्रदेश र समन्वय कमिटीका २५ जनाले पनि बैठकमा रिपोर्टिङ गरेका छन् ।

समूह सदस्यहरूले नेताहरूको जीवनशैली विलासी बनेको, पार्टी र नेतामा भ्रष्ट आचरण मौलाएको, पार्टीमा नेतृत्वले नै गुटको नेतृत्व गरेको, सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेकोजस्ता प्रश्न उठाएका थिए । ‘केन्द्रीय कमिटी बैठकमा नेताहरूले धेरै गम्भीर विषय उठाउनुभएको छ । कसरी सम्बोधन गर्ने भन्ने विषयमा आइतबार बिहान सचिवालय बैठक बोलाएका छौँ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सचिवालयले निकाल्ने निष्कर्षका आधारमा दिउँसो १ बजे बस्ने बैठकमा नेतृत्वले जवाफ दिनुहुन्छ ।’

जवाफ अध्यक्षद्वय केपी ओली र प्रचण्ड दुवैले गर्ने या प्रचण्डले मात्रै जवाफ दिने भन्ने तय भएको छैन । यो निर्णय पनि सचिवाय बैठकले नै गर्नेछ । साभार–नयाँ पत्रिकावाट

प्रकाशित मिति १९ माघ २०७६, आईतवार ०१:५२