पर्वत महोत्सवमा आयोजित भलिवलको उपाधि यूनाईटेड स्पोर्टस क्लवलाई

माघ १९, पर्वत । पर्वत महोत्सवको अवसरमा आयोजित गण्डकी प्रदेश स्तरीय अन्तर पालिका भलिवल प्रतियोगिताको उपाधि बागलुङको गलकोट नगरपालिकाले हात पारेको छ ।
गलकोट नगरपालिकाको तर्फवाट युनाईटेड स्र्पोर्टस क्लव, र बागलुङकै जैमिनि नगरपालिकाको तर्फवाट हिल साईड निर्माण सेवाबीच भएको फाईनल प्रतिस्पर्धामा ३–१ को सेटमा गलकोटले उपाधि हात पारेको हो । गलकोटले पहिलो र दोस्रो सेट लगातार २५–१९ र २५–१७ को अन्तरले जितेको थियो भने तेस्रो सेट जैमिनिले २५–१९को अन्तरमा गलकोटलाई पराजित गरेको थियो ।
तेस्रो सेट जैमिनीले जितेपछि आक्रामक बनेको गलकोटले पुनः चौथो सेटमा २५–१७ को अन्तरमा पछि पारेसँगै गलकोट उपाधि जित्न सफल भएको हो । उपाधि विजेता गलकोटले रु. १ लाख ४४ हजार ४ सय ४४ रुपैया शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको जैमिनिको हिल साईड निर्माण सेवाले रु. ७७ हजार ७ सय ७७ रुपैया मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा महाशीला गाउँपालिका र मोदी गाउँपालिकाले सान्त्वना स्थान हात पारेका छन् । दुवै समुहलाई २२ हजार २ सय २२ रुपैयाका दरले पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा पर्वत, बागलुङ, म्याग्दी र कास्कीका गरी १३ समुहले भाग लिएका थिए । बिजयी समुहलाई गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले अन्तिम दिन आईतवार पुरस्कार वितरण गर्नुभएको हो ।

प्रकाशित मिति १९ माघ २०७६, आईतवार १२:०६