भ्रष्टाचार नियन्त्रणमा लिएको प्रधानमन्त्रीको ‘हाँस्यास्पद’ दाबी

माघ १९, काठमाडौँ । सत्तारुढ नेकपाका केन्द्रीय सदस्यहरुले भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने प्राबधान ल्याउन माग गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने नेपालमा भ्रष्टाचार घट्दै गएको दाबी गर्नुभएको छ । भ्रष्टाचारले मुलुकलाई चुर्लुम्म डुबाइसकेको भन्दै नेकपाका नेताहरुले गम्भीर चिन्ता प्रकट गरेका बेला सो पार्टीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचार नियन्त्रणमा लिएको दाबी गर्नुभएको हो ।

पार्टीको केन्द्रीय कमिटी बैठकमा समापन मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीले कारबाही बढेकाले भ्रष्टाचार बढेको जस्तो देखिएको जिकिर पनि गर्नुभयो । नेकपाका केन्द्रीय सदस्यहरुको समूहगत छलफलका क्रममा भ्रष्टाचारीलाई मृत्युदण्डको प्राबधान ल्याउनुपर्ने माग उठेको थियो । सरकार र पार्टीका नेताहरु नै भ्रष्टाचारका अनेकन काण्डमा मुछिएको प्रसंगमा पनि केन्द्रीय सदस्यहरुले चिन्ता व्यक्त गर्दै छानबिनको माग गरेका थिए । सामाजिक कलंकका रुपमा रहेको भ्रष्टाचार निवारणका लागि मृत्युदण्डको सजाय हुनुपर्ने माग समूहगत छलफलका क्रममा उठेको केन्द्रीय सदस्य ठाकुर गैरेले बैठकमा सुनाउनुभएको थियो ।
पार्टीका नेताहरुले भ्रष्टाचारबारे यति ठूलो चिन्ता गरेका बेला प्रधानमन्त्री ओलीले भ्रष्टाचार घटिरहेको दाबी गरेपछि सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ । नागरिक समाजका अगुवा तथा नेपालका लागि नेपाली अभियानका अभियन्ता सुरेन्द्र भण्डारीले भ्रष्टाचार घटेको प्रधानमन्त्रीको अभिव्यक्ति अत्यन्त हाँस्यास्पद रहेको टिप्पणी गर्नुभयो । उहाँले ठूला भ्रष्टाचारमा सत्तामा रहेकाहरुकै संलग्नता रहेकोले त्यसको बचाउमा प्रधानमन्त्रीको अभिव्यक्ति आएको आरोप लगाउनुभयो ।

आफ्नो अभिव्यक्तिका क्रममा प्रधानमन्त्री ओलीले धेरै व्यक्तिहरु रंगेहात पक्राउ गर्न सरकारको सम्यन्त्र सफल रहेको पनि बताउनुभएको छ । तर पाँच हजार घुस खाने खरिदारलाई पक्राउ गरेर अर्वौँ भ्रष्टाचार गर्नेहरुलाई काखी च्यापेको आरोप प्रधानमन्त्री ओलीलाई छ ।

भ्रष्टाचार साच्चिकै घटेको प्रमाणित गर्ने हो भने प्रधानमन्त्री ओलीले वाइडबडी काण्ड, वालुवाटार जग्गा प्रकरण, यति समूहसँगको असान्दर्भिक निककता लगायतका विषयमा सत्य तथ्य छानबिन गरि दोषीलाई कारबाही गर्ने हिम्मत राख्न सक्नुपर्छ । अन्यथा भ्रष्टाचार घटेको ओलीको अभिव्यक्तिप्रति नागरिकहरुले खिल्ली उडाइरहने छन् ।

प्रकाशित मिति १९ माघ २०७६, आईतवार १४:५३