बालुवाटारमा भोजै भोज !

माघ १९, काठमाडौँ । भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक समापनको दिन आइतबार दिउँसो त्यहाँ उपस्थिति सबै नेताहरुको फोनमा म्यासेज आयो । नेकपाका राष्ट्रियसभा, प्रतिनिधिसभा र केन्द्रीय सदस्यलाई पठाइएको म्यासेजमा लेखिएको थियो, ‘माघ १९ गते आइतबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा रात्रिभोजको आयोजना गरिने भएको हुँदा उपस्थितिका लागि अनुरोध गरिन्छ ।’

प्रधानमन्त्रीको सरकारी निवासमा अचानक आयोजना गरिएको भोजको उद्देश्य र सन्दर्भ सहभागीलाई थाहा छैन । तर, बालुवाटारमा गैरसरकारी भोज आयोजना भएको यो पहिलो पटक भने होइन ।प्रधानमन्त्रीको सरकारी निवासमा कहिले वंश विशेषको र कहिले पार्टीका लागि भोज आयोजना गरिँदै आएको छ । अर्थ–राजनीतिक विश्लेषक हरि रोका यसरी भोज आयोजना गरिनुलाई आर्थिक अत्याचारका रुपमा अर्थ्याउँछन् । ‘यस्ता कामले लुटलाई प्रोत्साहन गर्छ नै’ रोका भन्छन्, ‘यो जनताको करमाथिको अत्याचार पनि हो ।’

बालुवाटार अर्थात ‘पार्टी प्यालेस’ ?
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा सांसदलाई भोज आयोजना गरिएपछि सामाजिक सञ्जालमा पनि चर्को आलोचना सुरु भएको छ । पत्रकार गजेन्द्र बुढाथोकीले बालुवाटारमा भोज भइरहेको एउटा पुरानो तस्वीर ट्वीटरमा राखेर ‘बालुवाटार पार्टी प्यालेस’ उल्लेख गरेका छन् ।

बुढाथोकीले ट्वीटरमा उल्लेख गरेजस्तै, प्रम ओलीको प्रधानमन्त्रीको दोस्रो कार्यकालमा पनि पहिलो कार्यकालमा जस्तै बालुवाटारलाई भोजथलो बनाइएको छ । सरकारी सन्दर्भमा मात्रै होइन, पार्टीका आन्तरिक विषयमा पनि सरकारी निवास बालुवाटारमा यसरी भोज आयोजना गरिँदै आएको छ । जस्तो स् तत्कालिन एमाले र माओवादी केन्द्रबीच फागुन २०७४ मा पार्टी एकिकरणको घोषणा हुँदा पनि प्रधानमन्त्री ओलीले बालुवाटारमा भोज आयोजना गरेका थिए ।

पार्टी एकताको भोज गरेको तीन दिनपछि ११ फागुन ०७४ मा प्रम ओलीको ६७ औँ जन्मदिन थियो । ओलीको जन्मदिनमा पनि बालुवाटारमा भव्य भोज आयोजना भयो ।जन्मदिन जस्ता निजी विषय मात्र होइन, प्रधानमन्त्री ओलीले मन्त्री र उनका परिवारका लागि पनि बालुवाटारमा भोज आयोजना गरेका छन् । ८ मंसिर २०७६ मा बालुवाटारमा मन्त्री र मन्त्रीका परिवारका लागि ओलीले रात्री भोज आयोजना गरेका थिए ।

८ असार २०७६ मा ईद, ३० चैत २०७५ मा नयाँ वर्षको शुभकामना दिन भन्दै बालुवाटारमै ओलीले भोज दिएका थिए । यसबाहेक १७ चैत २०७४ मा ओलीले बालुवाटारमा कलाकारलाई दिवाभोज दिए । बालुवाटारमा मन्त्री, कार्यकर्ता, कलाकार र जन्मदिनसँगै ओली वंशजको भोज पनि आयोजना भएको छ । २३ भदौ २०७५ मा बालुवाटारमा ओली वंशजको भोज आयोजना गरिएको थियो ।

पहिलो कार्यकालका भोज
ओलीको पहिलो कार्यकालमा पनि बालुवाटारमा प्रशस्तै भोज आयोजना भए । ओली पहिलोपटक प्रधानमन्त्री हुँदा देश नाकाबन्दी र भूकम्पको चपेटामा थियो । नाकाबन्दीले नागरिकलाई आक्रान्त बनाएका बेला ओलीले १२ कात्तिक ०७२ मा देशले नयाँ सरकार, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पाएको भन्दै बालुवाटारमा भोज आयोजना गरेका थिए ।

३० चैत २०७२ मा खोटाङमा बस दुर्घटनामा परेर २४ जनाको मृत्यु भएको थियो । तर, बालुवाटारमा भने नयाँ वर्षको भोज चल्दै थियो । प्रधानमन्त्री कार्यालयबाट सार्वजनिक भएको बिल अनुसार सो भोजको खर्च नौ लाख ६७ हजार रुपैयाँ उठेको थियो । पहिलो कार्यकालबाट राजीनामा दिने समयमा पनि ओलीले ‘बिदाई डिनर’ भन्दै बालुवाटारमा रात्रिभोज आयोजना गरेका थिए ।

व्यापारीहरुसँगको सम्बन्धका कारण सरकार र नेता आलोचित भइरहेको समयमा सरकारी निवासमा नेताहरुलाई भोज खुवाउँदा जनतामा नकारात्मक सन्देश जाने बताउँछन् । साभार–नयाँ पत्रिकाबाट

प्रकाशित मिति १९ माघ २०७६, आईतवार १७:१८