बलात्कार आरोपमा साधु पक्राउ

माघ २०, पर्वत । बलात्कार आरोपमा एक साधुलाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ । भारत राजस्थानका ५५ वर्षीय हरिनारायण शर्मालाई पक्राउ गरिएको प्रहरी निरिक्षक बालिस्टर सिंहले बताए । १४ वर्षीया एक बालिकालाई बलात्कार गरी भाग्ने क्रममा गाउँलेले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।

पछि प्रहरी आएर साधुलाई गाउँलेबाट बुझेर लगेका थिए । साधु लामो समयदेखि गाउँलेसित घुलमिल गरी कहिले स्थानीय रामजानकी मठमा र कहिलेकाहीँ पालैपालो स्थानीयको घरमा बस्दै आएका थिए । वर्षमा कहिलेकाहीँ स्थानीयलाई सामूहिक रुपमा भारतका विभिन्न तीर्थस्थल घुमाउन पनि लग्थे । पीडितको रक्तश्राव भइरहेको अवस्थामा प्रहरीले उपचारको लागि कलैया अस्पतालमा भर्ना गरेको थियो । उनी अहिले पनि उपचारकै क्रममै छिन् । ‘मन्त्र सिकाइ दिने भन्दै साधुले कलम कापीसहित बालिकालाई लिएर बस्न भनेका थिए ।

कापीमा संस्कृतमा थोरै लेखिएको पनि देखियो, फूल र पानी पनि नजिकै थियो,’ प्रहरी निरिक्षक सिंहले भने, ‘लामो दाह्री कपाल र पहेंलो वस्त्रमा देखिएका साधुलाई गाउँलेले निकै विश्वास गर्दै आएका थिए ।’ साधुले झारफुकको पनि काम गर्दै आएको उनले बताए । ‘बालिका घटनास्थलमा बेहोस थिइन्,’ प्रहरी निरिक्षक सिंहले भने, ‘आक्रोशित स्थानीयले साधुलाई कुटपिट गरी नियन्त्रणमा लिएका थिए ।’ साधुमाथि प्रहरीले बलात्कार मुद्दा दर्ता गरी थप अनुसन्धानको लागि हिरासतमा राखेको छ । साभार ः कान्तिपुर दैनिकवाट

प्रकाशित मिति २० माघ २०७६, सोमबार १५:४२