दलितभित्रै जातीय विभेद

माघ २०, काठमाडौँ । ढाँटेर सार्कीको छोरी विवाह गरेको आरोपमा दमाई थरका रामबहादुर सामाजिक अपहेलनामा परे । गाउँ बाहिर घर बनाएर बस्नु पर्‍यो । घोषित रूपमा बहिष्कार नगरे पनि बुढापाका राम्ररी बोल्दैनन् । डडेलधुराको भागेश्वर–४ को सार्की टोलमा बस्ने उनी पछिल्लो समय उनी एक्लिएका मात्रै छैनन्, आफन्तकै ‘अघोषित’ बहिष्कारमा परेका छन् । श्रीमतीको नाम मुक्त हलियामा भएकाले पाएको सरकारी रकमले गाउँ बाहिर घडेरी किनेर घर बनाएका छन् ।

रामबहादुरको भोगाइ विभेदको कथामा आधारित सामाजिक चलचित्रको जस्तो छ । सिन्धुपाल्चोकमा जन्मिएका उनी आठ वर्षको उमेरमा घरबाट भागे । गाउँका युवासँगै भारत पसेका उनी रोजगारी गर्दागर्दै उनको साथी डोटीका सार्की थरका युवा भए । उनी डोटी आए । भागेश्वर–४ की सार्की थरकी युवतीसँग विवाह गरे । विवाहपछि जन्मथलो सिन्धुपाल्चोक पुगेर गाउँ र आफन्तको खोजी गर्दा आफू दमाई भएको थाहा पाए । ससुराली फर्किएपछि जातीय विभेदको समस्या भोग्नुपरेको हो ।

डडेलधुराकै परशुराम नगरको जजोलाका हरि दमाईको भोगाइ पनि उस्तै छ । सुनारकी छोरीसँग प्रेमविवाह गरेका कारण आफ्नो पुर्ख्यौली गाउँ बैतडीको तल्लो स्वराडबाट विस्थापित भएर उनी भित्री मधेस पुगेका हुन् । चाडपर्व र विवाहमा पनि गाउँलेले बोलाउन छाडेपछि गाउँ छाडेका हुन् । ‘गाउँमा बस्न सक्ने वातावरण नै भएन । जातीय विभेदमा पिल्सिएका दलित समुदायभित्रै यस्तो छ भन्दा पत्याउन गाह्रो हुन्छ,’ हरिले भने, ‘दमाईले छोएको सार्कीले नखाने, सार्कीले छोएको विश्वकर्माले नखाने, दासले छोएको दमाईले नखाने गैरदलित र दलितको छुवाछूतभन्दा पनि कट्टर जातीय विभेद देख्दा दिक्क लागेर आउँछ ।’ शिक्षित युवाले पनि जातीय विभेदका भोगिरहेको उनले बताए ।

सुदूरपश्चिम पहाडमा दलितभित्रै जातीय विभेदका थुप्रै घटना भेटिन्छन् । विभेदकै कारण विस्थापन, सम्बन्धविच्छेद, पानी–पँधेरो अलग गरिएका र सामाजिक बहिष्कारमा परेका घटना भइरहेकै छन् ।

कानुनी उपचारभन्दा समाजमै मिलाइने भएकाले सरकारी तथ्यांकमा देखिँदैनन् । ‘दलित र गैरदलितबीच भएका विभेदका केही घटना कानुनी दायरामा आए पनि दलितभित्रैका जातीय विभेदका घटना भने आउने गरेको देखिँदैन,’ डडेलधुराका कानुनी सहायता परियोजनाका अधिवक्ता नरेन्द्र रोकायाले भने, ‘यस्ता घटना भइरहन्छन् ।’

दलितभित्रकै विभेदका कारण अहिले पनि पानी–पँधेरो, मठ–मन्दिर र धार्मिक संस्कारका कार्यक्रमसमेत अलग–अलग हुने गरेका छन् । विश्वकर्मा समुदायभित्रका टमटा, ताम्राकार, ओड, लुहार र लावड जस्ता जातजातिको सार्की र दमाई थरकासँग अहिले पनि पानी चल्दैन । सार्की समुदायकाले पनि अन्य जातजातिसँग पानी चलाउँदैनन् । दमाई समुदायका जातजातिले दास र भाँण समुदायसँग बिहेबारी र खानपिन चलाउँदैनन् । ‘माथिल्ला’ मानिने जातजातिभन्दा पनि बढी छुवाछूत र जातीय विभेद दलित समुदायभित्रै देखिने गरेको छ । जातीय विभेदविरुद्धको आन्दोलनमा सक्रिय संग्राम सार्की अन्तरदलित विभेद चर्को रहेको स्वीकार्दै भन्छन्, ‘दलितको उत्थान र विकास हुन नसकेका कारणमध्ये यो प्रमुख हो ।’

‘धेरैजसो दलित जात परिवर्तन गर्दै ब्राह्मण र क्षत्री लेख्छन्,’ संग्रामले भने, ‘त्यसरी परिवर्तन भएकाहरूको पनि आर्थिक, सामाजिक उन्नति भएको देखिँदैन ।’ सोच, प्रवृत्ति र जीवनशैली परिवर्तन नहुँदासम्म विभेद अन्त्य हुन कठिन देखिएकोउनले बताए ।

‘देवीदेवताका मन्दिर, मसानघाट, पानी–पँधेरो, जन्मदेखि मृत्युसम्मका सामाजिक विभेद कायम नै छन्,’ दलित अगुवा दयाकृष्ण टमटाले भने, ‘होटल, सरकारी कार्यालय र सार्वजनिक स्थलमा छुवाछूत छैन तर विभेद प्रस्ट देखिने गरी कायम छ ।’ दलित र गैरदलितबीच मात्र होइन यस्ता घटना बढीजसो दलित समुदायभित्रैका जातजातिमा बढी देखिने उनी बताउँछन् । ‘संविधान र कानुनले जे जस्तो व्यवस्था गरे पनि व्यावहारिक रूपमा दलितलाई छोएर छिटो हाल्ने परम्परा र सार्वजनिकस्थलमा छुवाछूत नगर्नेबाहेक कुनै पनि परिवर्तन हुन सकेको देखिँदैन,’ उनले भने । दलितभित्रकै छुवाछूत र विभेद कम हुन नसकेका कारण जातीय विभेदविरुद्धको आन्दोलन कमजोर भएको उनको तर्क छ ।

भूमि अधिकार मञ्चका अध्यक्ष चक्र दमाई विभेदले समाजलाई गाँजेका कारण पिछडिएको वर्ग अगाडि आउन नसकेको बताउँछन् । जातीय विभेदका नाममा दलित र गैरदलितबीचको सम्बन्धलाई मात्र हेर्ने गरिएका कारण पनि दलित समुदायभित्रको समस्याप्रति कसैको चासो नदेखिएको उनको भनाइ छ । ‘कुनै घटना विशेषलाई अगाडि ल्याउनुभन्दा पनि अन्तरदलित विभेद र छुवाछूत कम गर्ने प्रयास नै हुन सकेको देखिँदैन ।’

विभेदका विषयमा अध्ययन गरिरहेका डडेलधुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने समाजमा जरो गाडेको विभेद सहजै अन्त्य हुन कठिन रहेको बताउँछन् । गाउँका चौकीमा यस्ता गुनासा आए पनि मुद्दाको रूपमा नआउने उनको भनाइ छ । ‘स्थानीय तहमा न्यायिक समिति छ, गाउँ गाउँमा मेलमिलापकर्ता छन् । धेरैजसो यस्ता घटना समाजमै मिलाउने गरिएको छ,’ उनले भने । प्रहरीकहाँ आएका जातीय विभेदका घटना पनि दलित र गैरदलित सम्बन्धित मात्र छन् । ‘समाजमा यस्ता घटना भइरहेका हुन्छन् तर कानुनी उपचारका लागि आउनुअघि नै गाउँरसमाजमै विवाद मिलाइयो भन्ने सुन्ने गरिएको छ,’ उनले भने । स्थानीय तहका न्यायिक समितिमा पनि यस्ता उजुरी देखिँदैनन् । ‘नराम्ररी जरो गाडेको जातीय विभेद हट्न समय लाग्छ,’ सुदूरको संस्कृतिमा विद्यावारिधि प्राध्यापक मोहन भट्ट भन्छन् । साभार – कान्तिपुर दैनिकवाट

प्रकाशित मिति २० माघ २०७६, सोमबार १६:५५