पर्वतमा अझै ३ हजारभन्दा बढी घर पुनर्निर्माण हुन बाँकी

माघ २०, पर्वत । पर्वतमा २०७२ को भूकम्पले भत्किएका ३ हजार २३७ घर पुनर्निर्माण हुन बाँकी छन् । पुनर्निर्माण प्राधिकरणको क्षति विवरणमा सूचीकृत ५ हजार २६९ घरमध्ये अहिलेसम्म २ हजार ३२ घर निर्माण सम्पन्न भएको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ पर्वतले बताएको छ ।

कार्यान्वयन एकाइका अनुसार अहिलेसम्म ४ हजार ९४६ जनाले अनुदानबापतको पहिलो किस्ता लिएका छन् । यस्तै ३ हजार ८४ जनाले दोस्रो किस्ता लिएका छन् । पहिलो र दोस्रो किस्ता लिनेको संख्या उल्लेख्य भए पनि घर निर्माण गर्नेको संख्या न्यून रहेको आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार निर्माण कार्यालयका प्रमुख कृष्णराज गौतमले बताए । उनका अनुसार अहिलेसम्म किस्ता लगेका ९ जनाले घर नबनाई पैसा फिर्ता गरेका छन् । अनुदान पाउने लोभले लाभग्राही सूचीमा सूचीकृत भएका, तर घर नबनाउनेको छानविन गरी किस्ता फिर्ता लिने कार्यालयको तयारी गरेको उनले जानकारी दिए ।

कार्यालयका नायब सुब्बा बालकृष्ण शर्माका अनुसार भूकम्पबाट भत्किएका घर निर्माण गर्नेमा सबैभन्दा बढी कुश्मा नगरपालिकाका छन् । कुश्मामा ५०६, फलेवासमा ४५८, विहादीमा ३७९ , पैयुँमा २२६, मोदीमा २३६, महाशिलामा १५२ र जलजलामा ७५ जनाले घर निर्माण सकेका छन् । लाभग्राही सूचीमा सबैभन्दा बढी फलेवासमा १ हजार ४५४ छन् ।

प्राविधिक आउनुपूर्व बनेका घरको प्रामाणीकरण गरी अनुदान वितरण गर्न थालिएको कार्यालयले जानकारी दिएको छ । प्राविधिक आउनुअघि आफू खुशी घर निर्माण गरेका ५१६ जना सूचीकृत भएका छन् । तीमध्ये कुश्मा नगरपालिकाका ३३ जनाले सबै किस्ता रकम बुझेका छन् । अन्य ६ स्थानीय तहका पीडितले भने पहिलो किस्ता लगे पनि दोस्रो र तेस्रो किस्ता लिन नआएको कार्यालयले बताएको छ ।

प्रकाशित मिति २० माघ २०७६, सोमबार १७:१३