गण्डकीमा ४४ पर्यटकीय गन्तब्यको पूर्वाधार निर्माण हुँदै

माघ २०, पर्वत । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र रहेका पर्यटकीय स्थलहरुको भौतिक पूर्वाधार निर्माण गर्न बजेटको व्यवस्था गरेको छ । सरकारले प्रदेशका विभिन्न ११ जिल्लामा केही समय अघि घोषणा गरेका ११० पर्यटकीय गन्तव्य मध्येका ४४ ओटा पर्यटकीय गन्तब्यको लागि आवश्यक पूर्वाधार निर्माण गर्न बजेट दिने तयारी थालेको हो ।

प्रदेश सरकारले यस वर्ष प्रदेशका प्रत्येक जिल्लामा ४र ४ ओटा पर्यटकीय गन्तव्यहरुको पूर्वाधार गर्ने योजना बनाएको हो । ती जिल्लामा रहेको प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक–एक ओटा पर्ने गरि पर्यटकीय गन्तव्य विकास गरिने छ । गण्डकी प्रदेश सरकारका भौतिक योजना मन्त्री एवं प्रवक्ता रामशरण वस्नेतले ४४ पर्यटकीय गन्तव्यको आवश्यक पूर्वाधार निर्माण गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत रू।१७ करोड ६० लाख बिनियोजन गरिएको बताए ।

पर्यटकीय पूर्वाधार निर्माण गर्नका लागि मन्त्रिपरिषदले पूर्वाधार विकास कार्यविधि २०७६ समेत स्वीकृत गरिसकेको छ । मन्त्रालयले विभिन्न जिल्लाबाट प्राप्त ४४ गन्तव्य सूची केही दिनमै सार्वजनिक गर्ने तयारी गरेको छ । माघ महीनाभित्रै काम अगाडी बढाउन मातहतका कार्यालयमा बजेट पठाइने तयारी छ ।

छनौट भएका गन्तव्यहरुको पूर्वाधार निर्माणलाई व्यवस्थित बनाउन मन्त्रालयले कार्यविधिमै प्रत्येक आयोजनाको अनिवार्य डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) बनाउनु पर्ने बाध्यकारी व्यवस्था समेत गरेको छ ।साभार –अभियान दैनिकवाट

प्रकाशित मिति २० माघ २०७६, सोमबार १७:१९