बुद्ध एयरको पोखरा–विराटनगर सिधा उडान शुरु

माघ २०, कास्की । बुद्ध एयरले पोखराबाट विराटनगरका लागि उडान सेवा शुरु गरेको छ । पोखरा–काठमाडौं, पोखरा–भैरहवा, पोखरा–भरतपुर सम्म सिधा हवाई सेवा सञ्चालन गर्दै आएको बुद्ध एयरले सोमवारदेखि पोखरा–विराटनगर सिधा हवाइ सेवा शुरु गरेको हो ।

पहिलो उडानमा पोखराबाट १८ जना यात्रु लिएर  विराटनगर उडेको जहाजले बिराटनगरबाट समेत  १८ यात्रु लिएर पोखरा आएको बुद्ध एयरलायन्स कम्पनी पोखराका स्टेशन म्यानेजर गौतम बरालले बताए ।

उनले  पहिलो चरणमा हप्तामा तीन दिन सोमवार, बुधवार र शुक्रवार उडान गर्ने बताए । ‘माग बढ्दै गएपछि दैनिक उडान सञ्चालन गछौं’, उनले भने । 

नेपाल भ्रमण वर्षलाई लक्षित गरी बुद्ध एयरले पर्यटन प्रवर्द्धन गर्न पोखरादेखि विराटनगरलाई सिधा हवाई सेवाबाट जोड्न शुरु गरेको बरालको भनाइ छ ।पोखरा –बिराटनगरको हवाई यात्रामा एक घण्टाको समय लाग्ने छ । उडान शुल्क नेपाली र भारतीयलाई रू.६ हजार २०० कायम गरिएको छ । 

यसैगरी विदेशीलाई भने १३० डलर लाग्ने छ । विमान पोखराबाट ११ बजेर ४५ मिनेट र विराटनगरबाट १ बजेर १० मिनेटमा उड्ने  उक्त कम्पनीले बताएको छ ।साभार –अभियान दैनिकवाट

प्रकाशित मिति २० माघ २०७६, सोमबार १७:२७