बामदेवले किन संगठन विभागको पहिलो एक्सन प्रदेश २ शुरु गरे ?

माघ २१, काठमाडौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा प्रदेश २ मा पार्टी बिघटनको चरणमा पुगेको रिपोर्टिङ पेश भयो । समूहगत छलफलका क्रममा १५ औं समूहबाट प्रदेश २ मा केन्द्रले हस्तक्षेप नगर्ने हो भने नेकपा धराशायी हुने कुरा उठ्यो ।

प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेल मिलेर पार्टीको बिधान, अन्तरपार्टी निर्देशन र निर्णयहरु विपरीत मनपरी गरेको भन्दै तत्काल केन्द्रको हस्तक्षेप हुनुपर्ने माग स्वयं केपी ओली र प्रचण्ड निकटका नेताहरुले पनि गरेका थिए ।

बैठकले अन्तिममा प्रदेश २ को विवाद मिलाउने जिम्मा उपाध्यक्ष वामदेव गौतम नेतृत्वको संगठन विभागलाई दिएको छ । यद्यपि केन्द्रीय कमिटी बैठक समापनअघि जवाफ दिने क्रममा प्रचण्डले प्रदेश २ मा नेताहरुबीच केही विवाद देखिए पनि जनमत नेकपाको बढेको भन्दै उपनिर्वाचनमा महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष जितेको प्रसंग झिकेका थिए ।

प्रदेश २ मा शुरुमा प्रदेश पदाधिकारी चयन गर्दा ओलीनिकट सत्यनारायण मण्डल इन्चार्ज र प्रचण्ड निकट प्रभु साह अध्यक्ष बनाइएका थिए । त्यस्तै नारायणकाजी श्रेष्ठ निकट विश्वनाथ साह सहइन्चार्ज र ओली निकट सुमन प्याकुरेल प्रदेश कमिटीको सचिव मनोनित भए ।

पछि कार्य बिभाजन गर्दा माधव नेपाल निकट नागेन्द्र चौधरी र प्रचण्ड निकट महेन्द्र पासवान सहइन्चार्ज थपिए । चौधरी र पासवानलाई केन्द्रीय सचिवालयले सहइन्चार्जको जिम्मेवारी दिए पनि इन्चार्ज सत्यनारायण मण्डल र अध्यक्ष प्रभु साहले अहिलेसम्म बैठकमा समेत नबोलाएको प्रसंग केन्द्रीय कमिटीमा उठेको थियो ।

केही समयअघि अध्यक्ष प्रचण्ड र महासचिव बिष्णु पौडेलको उपस्थितिमा प्रदेश कमिटीले बर्दिबासमा सपथग्रहण कार्यक्रम आयोजना गर्न लागेको थियो । तर मात्रिका यादव, रामचन्द्र झा, नागेन्द्र चौधरीलगायतका नेताहरुले सो कार्यक्रम अवैध भएको भन्दै विरोध गरेपछि अन्तिममा प्रचण्ड र बिष्णु पौडेल गएनन् ।

अध्यक्ष र महासचिव नगएपछि सपथग्रहण अघि बढाउन खोज्दा झडपनै भएको थियो । त्यसयता प्रदेश २ मा नेकपाका कुनै पनि भेला बैठक र पार्टीका अन्य गतिविधिहरु हुन सकेका छैनन् । राष्ट्रियसभामा राजपासँगको गठबन्धन जिताउन भने सबै पक्षका नेता खटिएर चुनाव जिताए ।आजको अनलाईन खवर बाट ।

प्रकाशित मिति २१ माघ २०७६, मंगलवार १०:३८