चीनमा रोकिएका १४ नेपाली स्वदेश फिर्ता

माघ २१, काठमाडौँ । किमाथांका नाकाबाट चीनमा काम गर्न भएका एक बालकसहित १४ नेपाली कामदार १६ दिनपछि नेपाल फर्किएका छन् । चाँगा बजारमा काम गर्न भएका नेपाली कामदार चीनले नाका बन्द गरेपछि उतै रोकिएका थिए। कोरोना भाइरसका कारण चीनले किमाथांका र ओलाङचुङगगोला नाका बन्द गरेको हो । चाँगामा काम गर्न गएका संखुवासभाका १२ जनालाई मंगलबार किमाथांकाबाट नेपाल फर्काइएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए ।

स्थानिय प्रशासन, सीमा प्रहरी चौकी, सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट, भोटखोला गाउँपालिकाको पहलमा करिव डेढ घण्टाका लागि नाका खुला गरी चाँगामा रहेका नेपालीकालाई स्वदेश फर्काइएको सहायक प्रजिअ घिमिरेले बताए । ताप्लेजुङका दुई महिलालाई भने भोटखोलाकै रिदकबाट ताप्लेजुङ पठाइएको छ। चाँगामा रोकिएका नेपाली पसल गर्ने र होटलमा ज्इालादारी काम गर्दै आएको खुलेको छ ।

भोटखोला गाउँपालिका–१ का वडाध्यक्ष तेन्छेवी शेर्पा, सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्टका इन्स्पेक्टर देवकुमार राई, नेपाल प्रहरी र स्वास्थ्य चौकी किमाथांकाको टोलीले मंगलबार दिउँसो जिम्मा बुझेको हो। साभार– अन्नपूर्णपोष्टवाट

प्रकाशित मिति २१ माघ २०७६, मंगलवार १५:१२