नेपाली भूमिमा सुरक्षा पोस्ट बनाउँदा  भारतको अवरोध

माघ २२, काठमाडौँ । भगवानपुर गाउँपालिका–४ ठाँडीमा सशस्त्र प्रहरी बललाई सुरक्षा पोस्ट निर्माण गर्न भारतीय सशस्त्र सुरक्षा बल एसएसबीले अवरोध गरेको छ । सशस्त्र प्रहरी बल इनर्वा बिओपीले सुरक्षाकर्मी परिचालन गर्न सहज हुने गरी शनिबारबाट दशगजा सीमाक्षेत्रनजिकै नेपाली भूमिमा सुरक्षा पोस्ट बनाउन सुरु गरेको थियो । खाल्टो खन्न थालेपछि सीमावर्ती भारतीय क्षेत्रमा रहेको भारतीय सशस्त्र सीमा सुरक्षा बल ९एसएसबी० ‘ए’ कम्पनीका लौकहाका इन्स्पेक्टर कुलदीप तिवारी नेतृत्वको ५ जनाको टोलीले निर्माणमा अवरोध गरेको हो ।

नेपाली भूमिमै सुरक्षा पोस्ट बनाउन लाग्दा पनि अवरोध भएपछि हाल काम रोकिएको छ । सशस्त्र प्रहरी बल ७ नम्बर हेडक्वार्टर सिराहाका सशस्त्र प्रहरी उपरीक्षक प्रवीण कँडेलले निर्माण रोकिएको विषयमा माथिल्लो निकायमा खबर गरिएको बताए । उनले भने, ‘नेपाली भूमिमा भारतीय एसएसबीले निर्माण रोकिदिएको छ । यसबारे माथिल्लो निकायमा जानकारी गराएको छु ।’

ठाँडीमा सीमाक्षेत्रमा निर्माणको विषय लिएर सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बलबीच विवाद जारी छ । गत २३ पुसमा भारतीय सशस्त्र सीमा सुरक्षा बलले दशगजा क्षेत्रमा पर्ने गरी स्वागत गेट निर्माण कार्य सुरु गरेको थियो । दशगजा क्षेत्रमा गेट निर्माण थालेपछि सशस्त्र प्रहरी बल इनर्वाले रोक्न पहल गरे । दुवै देशका सीमा सर्वेक्षण टोलीका प्रमुखहरूले आएर भारतीय पक्षले निर्माण गर्न लागेको गेट रोक्न भनेपछि अहिले रोकिएको छ ।

नेपाल–भारत सीमा सर्वेक्षण प्रमुख नेपालतर्फका प्रमुख उमेशकुमार नेपाल र भारततर्फका प्रमुख मंजुर मुमगाईं नेतृत्वको टोलीले निर्माण रोक्न लगाएको थियो । त्यसको करिब एक महिनापछि नेपाली सशस्त्र प्रहरी टोलीले सुरक्षा चेक प्वाइन्ट बनाउन खोजेपछि विवाद पुनः सुरु भएको छ । साभार–नयाँपत्रिकाबाट

प्रकाशित मिति २२ माघ २०७६, बुधबार ०३:३७