सुन्तला बेचेरै करोडपति

माघ २४, पर्वत । उद्योगधन्दा, बन्द व्यापार गरेर करोडपति भएका मानिस त हामीले देखे–सुनेकै छौं । तर साधारण लाग्ने वस्तुको विक्रीबाट पनि लाखौं कमाउन सकिने उदाहरण बनेका छन् स्याङ्जाको वालिङ नगरपालिका–२ का सुन्तला व्यवसायी लेखनाथ काफ्ले । सुन्तला विक्रीबाटै करोडपति बनेका काप्mलेको सफलताको कथा कमैलाई थाहा होला ।

अन्य व्यापार व्यवसायजस्तै सुन्तला विक्रीबाट रातारात धनी भएका होइनन् काफ्ले । ३ दशकदेखि सुन्तलाखेती गर्दै आएका छन् उनले । २०३२ सालमा वालिङबाट सुन्तलाका बिरुवा लगेर उनले यसको खेती शुरू गरेका थिए । ‘लगाएको ५ वर्षपछि आम्दानी लिन शुरू गरेको हुँ,’ उनले भने, ‘निरन्तरको मेहनत, खेती विस्तार र अनुभवले यो व्यवसायमा राम्रो गर्न सकेँ ।’ शुरूमा डेढ सय बोटबाट खेती शुरू गरेका उनको बारीमा हाल सुन्तलाका २०० बोट छन् ।

सुन्तला विक्रीबाट आफूले वार्षिक ४ लाख रुपैयाँभन्दा बढी कमाउने गरेको काफ्लेले सुनाए । यो व्यवसायबाट भएको आयआर्जनले घरखर्च चलाउन सहज हुनुका साथै बचत समेत हुने गरेको उनको भनाइ छ । ‘२०३७ सालदेखि वर्षेनि सुन्तलाको खेती तथा उत्पादन विक्री गर्दै आएको छु,’ उनले भने । सुन्तला विक्रीको पैसाले आफू यो अवधिमा १० करोड रुपैयाँ बराबरको सम्पत्ति जोड्न सफल भएको उनको दाबी छ ।

काफ्ले शिक्षक पेशामा समेत संलग्न छन् । सुन्तला व्यवसायको कमाइले उनले दुई छोरालाई इन्जिनीयरिङ पढाएका छन् । यस्तै तीन छोरीलाई डिग्रीसम्म पढाउन सकेको उनको भनाइ छ । सुन्तला उत्पादन हुने याममा बुटवलबाट ग्राहक आएर लैजाने गरेकाले बजारको समस्या नरहेको उनले बताए ।

‘बोटभरि सुन्तला लटरम्म फलेर भिरालो पाखो नै पहेँलो देखिन्छ,’ उनले भने, ‘त्यतिबेला मन आफ्नो पौरखप्रति गौरव लाग्छ, मन आनन्दित हुन्छ । सुन्तलाबाट दिगो रूपमा उत्पादन दिन आफूले बगैंचा व्यवस्थापनमा बढी ध्यान दिने गरेको उनले बताए । रोगकीरा लाग्न नदिन पुराना बोट निकालेर उक्त ठाउँमा नयाँ बिरुवा रोप्ने समेत गरेको उनले सुनाए ।

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार ०२:०३