कालीगण्डकी प्रसारण लाइन : मल्लाजका स्थानीयले गरे काममा अवरोध

माघ २४, पर्वत । पर्वतको जलजला गाउँपालिका–२, मल्लाजका बासिन्दाको अवरोधले कालीगण्डकी कोरिडोर प्रसारण लाइन विस्तार रोकिएको छ । मल्लाजका १४ घरपरिवारले बस्ती नजीकैबाट २२० केभीए क्षमताको विद्युत् प्रसारण लाइन लैजाँदा बस्तीमा जोखिम हुने भन्दै उनीहरूले आयोजनाको काममा अवरोध गरेका हुन् ।

आयोजना अन्तर्गत अहिले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१, दानादेखि पर्वतको कुश्मा नगरपालिका–२, खुर्कोट सबस्टेशनसम्म टावर बनाउने र तार टाँग्ने काम भइरहेको छ । स्थानीयले काम गर्न नदिएपछि टावर नं २१ देखि २३ सम्म तार टाँग्न नपाएको कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाका डिभिजन प्रमुख लक्ष्मण फुयाँलले जानकारी दिए । ‘हामीले प्राविधिक रूपमा नापजाँच गर्दा समस्या नदेखिए पनि प्रभावित क्षेत्रका बासिन्दाले सो कुरा विश्वास नगर्दा समस्या देखिएको हो,’ उनले भने, ‘मापदण्ड अनुसार टावरको दाँया–बाँया १५र१५ मिटरभित्र दुईओटा टहरा र एउटा गोठ बाहेक अन्य संरचना परेका छैनन् ।’ समस्या समाधानको पहल समेत भइरहेको उनले जानकारी दिए ।

स्थानीयले भने लाइन विस्तार गर्दा पूरै बस्तीमा असर पर्ने भन्दै बस्ती स्थानान्तरण गर्न वा अन्यत्रबाट लाइन विस्तार गर्न माग गर्दै आएका छन् । बस्तीको बीचबाटै प्रसारण लाइन लैजाँजा पूरै गाउँ जोखिममा पर्ने स्थानीय इन्द्रबहादुर विश्वकर्माले बताए । ‘बस्ती माथिबाट हाइभोल्टेज विद्युत् लाइन लैजाँदा बस्तीमा केही असर हुँदैन भनेर हामीले कसरी विश्वास गर्ने रु’ उनले भने, ‘सम्भावित जोखिम हटाउन आयोजनाले बेलैमा विकल्प खोज्नुपर्छ ।’

स्थानीयले विश्वकर्माको नेतृत्वमा संघर्ष समिति बनाएर मंगलवार जिल्ला प्रसासन कार्यालयको ध्यानाकर्षण समेत गराएका छन् । जिल्ला प्रशासनले आयोजना र प्रभावित क्षेत्रका बासिन्दा बीचमा छलफल गराएको छ । स्थानीयकोे माग सम्बोधन गर्न र आयोजनाको काम नरोक्न प्रशासनले दुवै पक्षलाई आग्रह गरेको निमित्त प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीले जानकारी दिए । दाना–खुर्कोट प्रसारण लाइनको ३९ किलोमिटर खण्डमा ११४ ओटा टावर निर्माण गर्नुपर्नेमा अहिलेसम्म ११० ओटा टावर बनिसकेको कालीगण्डकी कोरिडोर प्रसारण लाइनका सहायक प्रबन्धक यादव न्यौपानेले जानकारी दिए । स्थानीयको अवरोधकै कारण आयोजनाले सहज रूपमा काम गर्न नपाएको उनले गुनासो गरे ।

नेपाल विद्युत् प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा निर्माणाधीन आयोजना सन् २०१६ मेदेखि शुरू भएको थियो । रू। २ अर्ब ९० करोड लागतमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीले सबस्टेशन र प्रसारण लाइनको काम सन् २०२० डिसेम्बरसम्ममा सक्ने गरी ठेक्का लिएका छन् । दाना, खुर्कोट सबस्टेशन र प्रसारण लाइनको काम गत कात्तिकमै सक्ने लक्ष्य थियो । पहिलोपटक ६ महीना थपिए पनि समयमै काम नसकिएपछि गत असारमा दोस्रोपटक ३ महीनाको म्याद थपिएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताए । सबस्टेशन र अन्य ठाउँमा प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको भए पनि जलजलामा विवाद हुँदा समयमै काम सक्न अप्ठ्यारो भएको उनको भनाइ । हालसम्म आयोजनाको ९० प्रतिशत काम सकिएको उनले जानकारी दिए ।

कालीगण्डकी तथा म्याग्दी र मुस्ताङका अन्य नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न सबस्टेशन र प्रसारण लाइन निर्माण गर्न लागिएको हो । पर्वतको खुर्कोटबाट १२० केभीएको लाइन मोदी–लेखनाथ प्रसारण लाइन र २२० केभीए क्षमताको लाइन बुटवलसम्म जोड्ने योजना छ ।

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार ०२:०६