पर्वत महाशिलामा किसानलाई प्रतिफलमा अनुदान

माघ २४, पर्वत । पर्वतको महाशिला गाउँपालिकाले कृषि उत्पादन र पशुपालनमा लागेका किसानलाई उत्पादनमा अनुदान दिने कार्यक्रम ल्याएको छ । गाउँपालिकाले दूधमा प्रतिलिटर १०, तरकारी तथा फलफूलमा प्रतिकिलो ५ र मासुमा प्रतिकिलो २५ रुपैयाँ अनुदान दिने कार्यक्रम कार्यान्वयन गरेको हो । त्यसका लागि चालु आर्थिक वर्षमा ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाले कृषि र पशुपालनका लागि शुरु गरेको यो कार्यक्रमलाई महाशिला महाअभियान भनेको छ । अनुदानका लागि किसानले कुनै पनि प्रस्ताव पेस गर्नुनपर्ने तर, उत्पादन बढाउनुपर्ने भएको छ । पालिकाले गत आर्थिक वर्षबाट सुरु गरेको एक घर एक टनेल कार्यक्रम प्रभावकारी रुपमा अघि बढेपछि त्यसलाई थप व्यावसायिक बनाउन उत्पादन महाअभियान कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । महाअभियानमा सहभागी किसानलाई अनुदान दिन कार्यविधि समेत बनिसकेको छ ।

अनुदान कार्यविधिमा उत्पादन महाअभियान कार्यक्रममा सहभागी हुन कम्तीमा ३ रोपनीमा तरकारी खेती गर्नुपर्ने उल्लेख छ । दूधालु पशुपालन भए दैनिक १० लिटर उत्पादन गर्नुपर्ने, मासुसम्बन्धी भए वार्षिक ५ सय किलोसम्म मासु उत्पादन गर्नुपर्ने प्रावधान छ । अदुवा–बेसारलगायत नगदेबालीका लागि ५ रोपनी जग्गा कायम गरिएको छ ।

सुन्तला लगायतका फलफूल सय बोट, माहुरी १० घार, बाख्रापालन भए माउबाख्रा १० वटा हुनुपर्ने व्यवस्था छ । किसानले ३ वटा टनेलमा तरकारी लगाएमा अनुदान पाउने जनाईएको छ । उत्पादित तरकारी, दूध, मासु, फलफूल तथा नगदेबालीको संकलन र बजारीकरण समेत सहकारीमार्फत गाउँपालिकाले गर्ने महाशिला ५ का अध्यक्ष जीवन उचै ठकुरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार ०२:५०