आज दिउँसोबाट नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहने

माघ २४, काठमाडौँ । आजबाट मौसम बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली छैन । तर आज दिउँसोबाट नेपालमा पश्चिमी न्यून चापिय प्रणालिको प्रभाव रहने छ ।

हाल देशको पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले निकालेको मौसमको पूर्वानुमान बुलेटिनमा उल्लेख छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभाग सामान्यतया सफा रहने छ । देशको पश्चिमी पहाडी भूभागका थोरै स्थानहरूमा र मध्य तथा पूर्वी पहाडी भूभागका १÷२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशका पूर्वी भूभाग लगायत अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभाग सामान्यतया सफा रहने छ । देशको पूर्वी तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हिमपातको सम्भावना देखिएको महाशाखाले जानकारी गराएको छ ।

यसैबीच, आजबाट नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहने र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र पहाडी भूभागमा वर्षाको संभावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् । साभार–नयाँ पत्रिकावाट

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार ०३:१६