माधुरी साहित्य प्रतिष्ठानको आयोजनामा कुश्मामा निवन्ध प्रतियोगिता

माघ २४, पर्वत । माधुरी साहित्य प्रतिष्ठान पर्वतको आयोजनामा आज कुश्मामा कुश्मा नगरपालिका स्तरिय विभिन्न विद्यालयका विद्यार्थीहरुका बिचमा निवन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । प्रतिष्ठानले गरेको प्रतियोगितामा १३ विद्यालयका विद्यार्थी सहभागी भएकोमा गुरुकुल एकेडेमी कुश्माका बिधार्थी अभिषेक लामिछाने प्रथम, शिवालय माविका सरस्वती शर्मा दित्तिय, आदर्श अंग्रेजी आवासीय माविका सुर्यचन्द्र रेग्मी तृतिय र कालीगण्डकी एकेडेमीका पूर्णिमादेबी खत्री सान्त्वना हुनुभएको छ ।

प्रथम, दित्तिय, तृतिय र सान्त्वना भएका विद्यार्थीहरुले क्रमश ५ हजार, ३ हजार, २ हजार र १ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको प्रतिष्ठानका संरक्षक विमल शर्मा पौडेलले जानकारी दिनुभयो । प्रतिष्ठानले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि पर्वतमा पर्यटन विकासको संभावना विषयमा प्रतियोगिता सञ्चालन गरेको पौडेलले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले सहित्यका माध्यमबाट पर्वतको विकास र समृद्धिमा माधुरी साहित्य प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । नगरप्रमुख जोशीले सहित्यले समाज परिवर्तन गर्दै आएको बताउँदै पर्वतको साहित्यको विकासमा अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष सरस्वती शर्मा जिज्ञाशुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख संरक्षक विमल शर्मा पौडेल, जेष्ठ नागरिक संघका जिल्ला अध्यक्ष एवं समाजसेवी लोकनाथ आचार्य, पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पहाडी, कुश्मा नगरपालिका ५ का अध्यक्ष चित्रकला शर्मा भारती लगायतले बोल्नुभएको थियो ।

निवन्ध प्रतियोगिताको निर्णायकमा साहित्यकार लक्ष्मीप्रसाद शर्मा पौडेल संयोजक सहित रेखा कौशल रेग्मी र धनश्याम पौडेल सदस्यको रुपमा रहनुभएको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव नवराज शर्माले गर्नुभएको थियो । उक्त अवसरमा फलेवास ६ देविस्थानका साहित्यकार ईश्वर सत्यको ईश्वर ग्रन्थ सत्य ग्रन्थ महावाणीको विमोचन गरिएको थियो ।

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार १५:३४