नेकपावाट वडा सदस्य पदमा उम्मेदवार बनेका कार्की काँग्रेस पार्टी प्रवेश

माघ २४, पर्वत । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दल जलजला गाउँपालिकाले संगठन विस्तार अभियान संचालन गरेको छ । नेपाल तरुण दल जलजला गाउँपालिकाले पूर्णता पाएसँगै संगठन विस्तार अभियान संचालन गरेको हो । संगठन विस्तार अभियान अन्र्तगत आज जलजला गाउँपालिका–३ र ४ मा तरुण दल गठन गरिएको छ ।

तरुण दलले ३ नम्वर वडामा सोम जिसीको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको छ । त्यस्तै ४ नम्वर वडामा राजकुमार कार्कीको अध्यक्षतामा १३ सदस्य समिति गठन गरेको नेपाल तरुण दल जलजला गाउँपालिकाका सचिव पूर्णवहादुर बरुवालले जानकारी दिनुभयो । तरुण दलले यस अघि जलजला गाउँपालिका १ र २ नम्वर वडामा समिति गठन गरिसकेको छ । सचिव बरुवालका अनुसार तरुण दलमा आवद्ध युवाहरुलाई सक्रिय बनाउन तथा युवाहरुलाई एकताबद्ध बनाई रचनात्मक कार्यमा लाग्न संगठन विस्तार अभियानमा जोड दिएको बताउनु भयो । संगठन विस्तार अभियानले युवाहरुमा उत्साह थपेको उहाँको भनाई छ ।

कार्यक्रममा स्थानीय तहको निर्वाचनमा नेकपाबाट वडा सदस्यका उम्मेदवार बनेका जलजला ३ का नविन कार्की र प्रकाश जिसी सहित ९ जना युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेकपाले युवाहरुलाई सपना मात्र देखाएको र मुलुकलाई अध्याँरो तर्फ धकल्न खोजेको आरोप लगाउँदै उनीहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।

छुट्टाछुट्टै भएको कार्यक्रमलाई सम्बोधन गदै नेपाली काँग्रेसका नेता तथा जलजला गाउँपालिका–३ का वडा अध्यक्ष देबिन्द्र भण्डारीले तरुण दलले देशभरि देखाएको सक्रियाताको प्रसंशा गर्नुभयो । ४ का वडा अध्यक्ष भिस्मा मल्लले तरुण दल पार्टीको मेरुदण्ड भएको बताउँदै युवाहरुलाई रचनात्मक कार्यमा लाग्न सुझाव दिनुभयो । त्यस्तै नेपाल तरुण दल जलजला गाउँपालिकाका अध्यक्ष प्रकाश पुनले जलजलाका युवाहरुलाई तरुण दलमा आवद्ध हुन आग्रह गर्नुभयो ।

तरुण दल जलजलाले संगठन विस्तार अभियान अन्र्तगत भोलीदेखी लेखफाँट, सालिजा, धाईरिङ, बनौँ र नाग्लिवाङमा तरुण दल गठन गर्ने जनाएको छ ।

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार १६:०३